INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पहिरोले १२ घरपरिवार विस्थापित, घर निर्माणमा सरकारले चासो नदिएको गुनासो

प्यूठान नगरपालिका-९ मा ०८१ साउन १० गतेदेखि लगातर वर्षातका कारण आएको पहिरोले १२ घर परिवार विस्थापित भएका छन् । आफूहरूको लागि स्थानीय सरकारले तत्काल घर निर्माणमा चासो नदिएको पीडितहरूले गुनासो गरेका छन् ।

गाउँमाथिबाट गत वर्ष मल्लरानी गाउँपालिका-४ को खलङ्गा-पातिहाल्ना-बुकेनी-सोलाहाल्ना हुँदै अर्घाखाँची र गुल्मी जिल्ला जोड्ने सडक निमार्ण गर्दा सडकले कटान गरेको माटो ढुङ्गा बाढीले बगाएर प्यूठान नगरपालिका-९ का १२ घरपरिवार घर गोठमा पूर्ण रूपमा क्षेति पुर्‍याएको प्यूठान नगरपालिका-९ का वडा अध्यक्ष विकास केसीले बताउनु भयो । प्यूठान नगरपालिका-९ स्थित सृजनशील तारा बोर्डिङ स्कुलमा समेत बाढी पसेर क्षति पुर्‍याउँदा बालबालिकाहरूको पठनपाठनमा समस्या भएको उहाँको भनाइ छ ।

बाढीबाट विस्थापितहरू अहिले आफन्तको घरमा आश्रय लिइ बसिरहेको र आफूहरूलाई पुन स्थपित गराउन स्थानीय सरकारले कुनै चासो नदिएको प्यूठान नगरपालिका-९ का पीडित पार्वता सुनारले गुनासो गर्नुभयो । घरमा पटक पटक बाढी बाढी आउने जोखिम रहेकोले सोही ठाँउमा जाने अवस्था नभएको उहाँको भनाइ छ । सरकारले बाढीले विस्थापित भएको एक महिना बित्दासम्म पनि सामान्य राहात बाहेक अन्य पुनस्थापितको बारेमा चासो नदेखाउँदा आफूहरू बिचल्ली परेर अरुको घरमा बस्न बाध्य भएको प्यूठान नगरपालिका-९ का पीडित गिता सुनारले गुनासो गनुभयो ।

बाढी पीडितहरूको विषयमा छलफलको लागि कार्यपालिकाको बैठक छिटै आयोजना गरी पीडितहरूलाई घर निर्माण तथा थप राहत सामाग्री उपलब्ध गराउने प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले बताउनु भयो । सो ठाउँमा अन्य २३ घरपरिवार पनि बाढीको जोखिमा रहेकाले बाढी रोक्नका लागि नगरपालिकाले बायोइञ्जिनियरिङ तथा डिपिआर गर्न थालेको र तीनै तहका सरकारसँग समन्वय गरी पीडितलाई घर निर्माण र बाढी पहिरो नियन्त्रण गरिने नगर प्रमुख योगीले जानकारी दिनुभयो ।

बाढी पहिरोबाट पीडित परिवारहरूलाई उचित क्षतिपूर्ति र पुनस्थापित गराउन र सो ठाउँमा पछि हुने जोखिमलाई समाधान गर्नको लागि ०८१ भदौ २४ गते सर्वपक्षीय बैठक बसेर बैठकको निर्णय सहित प्रदेश र सङ्घ सरकारलाई अनुरोध तथा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनु भयो ।

अन्य

भिडियो