मेलम्ची नपा–६ तालामाराङमा रहेको श्री कोलेचौर आधारभूत विद्यलय भवनभन्दा माथिबाट आएको पहिरोका कारण विद्यालय उच्च जोखिममा परेको छ ।
भदौ २१ गते बिहान आएको अविरल वर्षातका कारणले विद्यालयभन्दा माथि रहेको कच्ची बाटो सहित बगाएर आएको पहिरोको लेदोले विद्यालयको कक्षा कोठा पुरिएपछि विद्यालय जोखिममा परेको विद्याालयका प्रधानाध्यापक विपिलाल सिग्देलले बताउनु भयो ।

प्रधानाध्यापक सिग्देलका अनुसार विद्यालयका सम्पूर्ण शैक्षिक सामग्री पुरिएर नष्ट भएका छन् । ‘विद्यार्थी बस्ने ठाउँ छैन । पहिरोका कारणले विद्यालय ठूलो सङ्कटमा परेको छ । अहिले पठनपाठन पूर्ण रूपले प्रभावित भएको छ ।’–प्रधानाध्यापक सिग्देलले भन्नु भयो ।
पहिरोले विद्यायलको कक्षा कोठा पुरिएपछि विद्यार्थीको पढाइ सुचारु गर्ने विषयमा नगरपालिकामा छलफल भइरहेको मेलम्ची नगरपालिका शिक्षा शाखाका संयोजक सुधिनराज बुढाथोकीले बताउनु भयो ।

नर्सरीदेखि कक्षा तीनसम्म सञ्चालनमा रहेको यो विद्यालयमा आएको पहिरोले पुर्याएको क्षतिको एकिन गरी पुनर्निर्माण नभएमा विद्यालय समेत सार्नुपर्ने समस्या आउने मेलम्ची नगरपालिका–६ का पुर्व वडा अध्यक्ष जितराज थापाले बताउनु भयो ।