मुगुको छायानाथ रारा नगरपालिका–७, माथिघुइर स्थित भवानी आधारभुत विद्यालय क्षेत्रमा पहिरो जाँदा जोखिम भएपछि गाउँघरका छतमा विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

शिक्षक, विद्यार्थीलाई विद्यालयमा आवतजावत गर्न जोखिम भएपछि गाउँघरका छतमा अहिले शिक्षकले कक्षा सञ्चालन गरेका हुन् । गत भदौ ४ गते आएको बाढीपहिरोले विद्यालयमा रहेका दुई ओटा भवनलाई क्षति पुर्याएपछि त्यसयता गाउँकै छतमा कक्षा सञ्चालन गरिरहेको र पानी परे कक्षा बन्द गर्दै आएको शिक्षक विद्या बडुवालले बताउनु भयो । बालकक्षादेखि ३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् । बालकक्षा शिक्षकसहित तीन जना शिक्षक कार्यरत यो विद्यालयको कार्यालय पनि गाउँलेकै घरको एक कोठामा सञ्चालन हुँदै आएको छ ।
स्थानीय कर्णजङ्ग रावलका अनुसार पानी परिरहने, त्यसमा पनि गाउँका छतका चिसो भुइँमा बालबालिका बस्दा उनीहरू चिसो लाग्ने गरेको छ । स्थानीय सरकार छायानाथ रारा नगरपालिकालाई वैकल्पिक सुरक्षित कक्षा व्यवस्थापनका लागि उहाँको अनुरोध छ ।
छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले विद्यालय क्षेत्रमा बाढीपहिरो गएर जोखिम भएकोले तत्काल गाउँघरमै पठनपाठन गर्ने व्यवस्थापन गरेको बताउनु भयो । वर्षात कम हुँदै गएपछि पहिरो पन्छाएर विद्यालय पुन सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ ।