१४ र १५ वर्षीया दुई जना बालिका र २१ वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले कोन्ज्योसोम गाउँपालिका–२ शङ्खुका ३३ वर्षीय राजिब लामा र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ का २५ वर्षीय सुनिता भन्ने शर्मिला कटुवाललाई ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ ।
सातदोबाटोस्थित न्यु नमस्ते रेष्टुरेन्ट बार सञ्चालन गर्दै आएका आरोपितहरूले आर्थिक अवस्था कमजोर भएका बालिका तथा महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी काममा राखेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी एवम् सूचना अधिकारी गौतम मिश्रले बताउनु भयो ।
पीडित महिला तथा बालिकाहरूलाई ग्राहकसँग शारीरिक सम्पर्क राख्न समेत पठाउने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने गरेको भन्ने सूचनापछि प्रहरीले त्यस होटलबाट पीडितहरूलाई उद्धार गरी आरोपितलाई अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
तीनै जना पीडितहरुको स्वास्थ्य परीक्षण भदौ २१ गते पाटन अस्पतालमा गरिएको पाटन अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।