INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम

जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०८०/८१ मा जनस्वास्थ्य कार्यालय मुगुका तथ्याङ्क अनुसार २० वर्ष मुनिका १ सय ३४ जना किशोरीले स्वास्थ्य संस्थामा चेकजाँच गरी सुरक्षित गर्भपतन गराएका छन् । यस्तै ९ सय ८४ जनाले २० वर्षभन्दा माथि उमेर समूहकाले गर्भपतन सेवा लिएका तथ्याङ्क छ ।

जिल्लाका ग्रामीण भेगमा रहेका अधिकांश जनजाती र दलित बस्तीमा सानो उमेरमै विवाह गर्ने समस्या छ । भौगोलिक कारणले पढाइलाई अघि बढाउन नसक्दा सानो उमेरमै विवाह गरेर जाने समस्या देखिन्छ । बालविवाहको समस्या शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक, सामाजिक रूपमा पछि परेका समुदायमा बढी पाइन्छ । बालविवाह न्यूनीकरणमा स्थानीय तहको भूमिका पनि खासै देखिएको छैन ।

मुगुमा बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालय मुगुकी अस्पताल नर्सिङ सहायक मनीषा चौलागाईँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘३३ ओटा सूचिकृत बर्थिङ संस्थाहरूमा गत आर्थिक वर्षमा १ हजार १ सय १८ जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्क छ । अझै १ हजार ९ सय ६८ जना गर्भवतीले उक्त सेवा लिएको पाइएको छैन । यसका अलवा मुगुमा ५७ प्रतिशत युवतीले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको उहाँले बताउनु भयो ।

जिल्लाको चार ओटा स्थानीय तहका सेवाग्राहीले यसरी सुरक्षित गर्भपतन सेवा लिनेमध्ये २० वर्षभन्दा मुनिका १ सय ३४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बलिराज बुढाका अनुसार प्रहरीमा बालविवाह सम्बन्धी उजुरी नभए पनि स्वास्थ्य संस्थामा २० वर्ष मुनिका किशोरी गर्भ चेक जाँच गर्न आउँदा बालविवाह कायमै रहेको पुष्टि हुने गरेको छ । सानो उमेरमै विवाह गर्दा पछि विभिन्न समस्या भोग्ने गरेको उहाँले बताउनु भयो । सानै उमेरमा विवाह गरेका कारण युवतीहरूले आर्थिक सामाजिक समस्याका साथै स्वास्थ्य समस्या पनि भोग्ने गरेको उहाँले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार बालविवाह घट्दो क्रममा छ । स्थानीय तहदेखि विभिन्न सङ्घ संस्थाको जनचेतना मूलक कार्यक्रमका कारण बालविवाह न्यूनीकरण हुँदै गएको उहाँको भनाइ छ । बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना भराउने कानुनी प्रावधान भएको उहाँले बताउनु भयो ।

कानुनी प्रावधान अनुसार किशोरीको विवाह गर्न अभिभावकको सहमतिमा दुबैको उमेर २० वर्ष पुगेको हुनुपर्छ । तर जिल्लामा बालविवाहको बढी समस्या छ । यहाँ २० वर्ष नपुग्दै गर्भवती हुने किशोरी धेरै छन् । १६ वर्ष पुग्दा नपुग्दै पहिलो र दोस्रो बच्चा जन्माउने प्रचलन नै छ ।

अन्य

भिडियो