INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ ।

प्रहरीले हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षको आरोप छ । पीडित यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यादवको पैताला, गाला र ढाडमा चोट लागेको छ ।

गाईवस्तुको व्यापारीले एक हुल गाइवस्तु गाउँ भएर लैजाँदै गर्दा गाउँका केही व्यक्तिले अवरोध गरेको विषयमा प्रहरीले कात्तिक १३ गते यादवलाई गिरफ्तार गरेको थियो ।

पीडितलाई कुटपिट तथा यातना नदिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविन धितालले चोरीको घटनालाई दबाउन यस्तो बहाना बनाएको बताए । गाईवस्तु चराउने मानिसको मोवाइल चोरी गरेपछि ती मानिसले यादवलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय औरहीमा जिम्मा लगाएको डीएसपी यादवको भनाई छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यातना दिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा पत्र पठाएको जनाएको छ ।

 

अन्य

भिडियो