१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सन्धिखर्क नगरपालिका-२, चुत्राबेसीका २० वर्षीय रामबहादुर पुनलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश श्री शिबलाल पाण्डेयको ०८१ भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै एक वर्ष कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई पुनले ०८० असोज ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पुनलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।