शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरस्थित धर्मजनता माध्यमिक विद्यालयका शिक्षक गणेशसिंह धामीलाई ०८१ भदौ १६ गते कुटपिट गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय भुवनराज जोशी र १९ वर्षीय अमित चौधरीलाई गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई भदौ १६ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताउनु भयो ।
कुटपिटबाट आँखा, ढाड र पेटमा चोट लागेर घाइते भएका शिक्षक धामीको झलारीस्थित टिएण्डसी अस्पतालमा उपचार भइरहेको र घटनापछि विद्यालय क्षेत्र त्रसित बनेको विद्यालयका प्रधानाध्यापक हरिदत्त बागले बताउनु भयो ।
विद्यालय परिसर भित्रै आएर छात्राहरुलाई जिस्क्याउने गरेका युवाहरुलाई विद्यालय हाता बाहिर जान भनेपछि एक्कासी स्थानीय युवाहरुले आक्रमण गरी शिक्षकलाई कुटपिट गरेको प्रधानध्यापक बागले बताउनु भयो ।