हेटौँडा नगरपालिका-११ थानाभर्याङ्ग की २३ वर्षीया एलिसा पौडेलको हत्या घटनाका आरोपित पीडितकै पति हेटौँडा नगरपालिका- ४ निवासी ३२ वर्षीय समीर खान रहेको र उनी फरार रहेको डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो ।
पीडित पौडेलसँग उनका पति खान भदौ ९ गते साँझ ५ बजेको समयमा हेटौँडा नगरपालिका-१० मा रहेको एक होटलमा बास बस्न पुगेका थिए ।
१० भदौ बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा पौडेल मृत अवस्थामा भेटिएकी थिइन् ।
सङ्गै आएका पतिले हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको भनाइ छ ।
वडा नं १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार ९ गते साँझै हत्या गरेर ७ बजेर ५९ मिनेटको समयमा होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको छ ।
मृतकको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको र पतिको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम हेटौँडा अस्पतालमा भदौ १० गते भएको डिएसपी भण्डारीले बताउनुभयो ।