INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गमका पीडा, पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता

दुर्गम जिल्लाका नागरिकले बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता रहेको छ । २१ औँ सताब्दीमा आएर पनि बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी पुर्‍याउनु पर्दा स्थानीयलाई सास्ती हुने गरेको छ ।

Photo28082024Humla

यहाँका अधिकांश बिरामीहरू दिनभर पैदल हिँडेर स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ । कतिपय बिरामीहरू हिँड्न नसके बोकैरै अस्पताल पुर्‍याउनुपर्ने यहाँको नियति नै बनि सकेको छ । चङ्खेली गाउँपालिका–५, नेप्का गाउँकी ४५ वर्षीया तुला तामाङ लामोसमयदेखि गाउँमा मुटु दुख्ने, खुट्टाको फिला दुख्ने समस्याले थला पर्नुभएको छ । बिरामी तामाङलाई भदौ ११ गते गाउँबाट एक दिन पैदल पिठ्युँमा बोकेर बल्लतल्ल गाउँपालिका केन्द्र, पिप्लाङसम्म ल्याएको उहाँका पति हरिचन्द्र तामाङले जानकारी दिनुभयो । घरमै सञ्चो हुने आशामा उहाँलाई महिनौसम्म घरेलु उपचार गरिएको उहाँले भन्नुभयो । तर घरेलु उपचारले सञ्चो नभएको पति तामाङले बताउनु भयो । घरमा सञ्चो नहुने नदेखिएपछि पत्नीलाई गाउँपालिका केन्द्रसम्म बोकेर ल्याएको उहाँले उल्लेख गर्नुभयो । ‘गाउँभर पत्नीलाई बोकाउने मान्छे खोज्दा खोज्दा बल्ल चार जना मात्रै मान्छे भेटिएपछि पिठ्युँमै बोकेर बिहानै गाउँबाट हिँडेका हौँ, बेलुका ४ बजे गाउँपालिका केन्द्र, पिप्लाङसम्म पुर्‍याइयो’, उहाँले भन्नुभयो । अप्ठ्यारो बाटोमा जोखिम मोलेर बोकेर गाउँपालिका केन्द्रसम्म ल्याएपछि यहाँप नि उपचार नहुने स्वास्थ्यकर्मीले बताएको तामाङको भनाइ छ ।

गाउँमा बिरामी हुँदा बोकेर गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने चङ्खेली गाउँपालिका–५ का स्थानीय जस बहादुर तामाङले बताउनु भयो । ‘स्थानीय सरकार आए पनि नत गोरेटो बाटो राम्रो छ, नत गाउँमा गुणस्तरीय उपचार औषधिको व्यवस्था छ’, तामाङले आक्रोश पोख्नुभयो । गाउँगाउँमा सिंहदरबार भनिएता पनि नागरिकहरूका दुख जस्ताको त्यस्तै रहेको तामाङले बताउनु भयो ।

गाउँपालिका केन्द्र, पिप्लाङमा बिरामीहरू उपचारका लागि आए पनि यहाँ बिरामी तामाङका लागि औषधि नभएकाले सदरमुकाम सिमकोट रिफर गरिएको चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरविर शाहीले बताउनु भयो ।

अन्य

भिडियो