INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युत नभएको भन्दै फ्याक्ट्री बन्द, कामदार आन्दोलित

विद्युत नभएको भन्दै फाकफोकथुम गाउँपालिका-१ स्थित सिद्धदेवी टि स्टेट प्रालिले फ्याक्ट्री बन्द गरेपछि फ्याक्ट्रीमा कार्यरत १ सय ५० भन्दा बढी मजदूरले विद्युत दिन वा रोजगारी दिन माग गर्दै आन्दोलन थालेका छन् ।

photo 20240823 ilam

विद्युत कटौती भएपछि चिया उत्पादनमा समस्या भएको भन्दै फ्याक्ट्री बन्द गरिएपछि त्यहाँ कार्यरत १ सय ५० जना मजदूले ०८१ भदौ ७ गते फ्याक्ट्रीमा धर्ना दिएर विद्युत दिन वा काम दिन माग गरेका छन् ।

मजदुर, ड्राइभर, सेक्युरिटी गार्ड, टिमेकर लगायतले अफिस परिसरमा “कि रोजगार देउ, कि विद्युत देउ” भन्दै प्लेकार्डसहित चिया टिप्ने ढोको राखेर धर्ना दिएका छन् । दुई घण्टा टाढाबाट हिँडेर दैनिक रोजगारीमा आउने मजदूरहरुलाई काम रोकेर घर फर्काउँदा मार परेको मजदूरहरुको आरोप छ ।

‘परिवार पाल्ने, बालबच्चा पढाउने, औषधिउपचार लगायत सबै खर्चको स्रोत नै यही थियो । काम नदिएर रोजीरोटी मात्र हराएन हामी बिचल्ली हुने भयौँ ।’ कार्यरत कामदार पुष्पा खतिवडाले भन्नुभयो, ‘की हामीलाई काम दिनुपर्यो की ज्याला चाहियो ।’

निरन्तर विद्युत अवरोध भइरहँदा फ्याक्ट्रीलाई असहज भएको कम्पनीका मेनेजर एन्ड्रयु गार्डनरले बताउनु भयो । ‘विद्युत नहुँदा जेनेरेटरको माध्यमबाट चिया उत्पादन गर्नुपर्छ । हरियो पत्तिको सिजनमा दैनिक इन्धन खर्च ५० हजार रुपियाँ बढी हुने गरेको छ । खर्चिलो बन्ने भएपछि उत्पादन भएको चिया, कर्मचारीको तलब र खर्च नधान्ने हुँदा बन्द गर्नुपर्ने बाध्यता भयो ।’ उहाँले भन्नुभयो ।

कम्पनीमा गत साउनमा ३९ लाख ६६ हजार ८० रुपियाँ ५० पैसा खर्च हुँदा इन्धन तर्फ अधिक खर्च भएपछि फ्याक्ट्री नै बन्द गरिएको फ्याक्ट्री प्रशासनले जनाएको छ । निरन्तर विद्युत सेवा सुचारू हुने हो भने, इन्धनमा लाग्ने खर्च बच्ने र विद्युत बिलमा कम खर्च हुँदा फ्याक्ट्री सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । यसरी नै सधैं विद्युत सेवा असहज हुँदा फ्याक्ट्री नै बन्द गरिएको फ्याक्ट्री  प्रशासनले जनाएको छ । पटकपटक विद्युत सेवा अवरोध भएपछि कामदारलाई काम रोक्न लगाइएको कम्पनीले जनाएको छ ।

दैनिक ५ सय किलोग्राम उत्पादन क्षमता भएको यस फ्याक्ट्रीले इलाम नगरपालिकास्थित नेपालटार, पुवामझुवा, देउमाई नगरपालिकाको पानीटार, फाकफोकथुमको कोल्बोटे, आमचोक, पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित वसाँगु, चिलिङदिनलगायत स्थानीय किसानले उत्पादन गरेको १ हजारदेखि १ हजार ५ सय किलोग्राम हरियो पत्ति अहिलेको सिजनमा दैनिक संकलन गर्दै आएको छ ।

कम्पनीको आफ्नो उत्पादन २ सय किलोग्रामसहित २ हजार किलोग्राम हरियो पत्ति फ्याक्ट्रीमा प्रशोधन गरी विभिन्न क्वालीटिका चिया उत्पादन गरिरहेको छ । विद्युत असहजले  फ्याक्ट्री बन्द भएमा स्थानीय किसानले उत्पादन गरेको र विभिन्न ठाउँबाट संकलन हुँदै आएको चिया पत्ति अवस्था भएको छ ।

विद्युत कार्यालयले लामो फिडर र जंगल क्षेत्रबाट लाईन विस्तार भएका कारण समस्या भएको जानकारी गराएको छ । इलाम र पाँचथरको सिमानामा इलाम वितरण केन्द्रबाट दुवै क्षेत्र एउटै लाइन मार्फत प्रसारण भएको तर, कर्मचारी भने दुवै जिल्लाका छन् । विद्युत लाइनमा समस्या आउँदा फिल्डमा खट्ने प्राविधिकहरूको एक आपसमा समन्वय नहुँदा, बेलैमा बुस कटिङ, अवरोध र निगरानी नपुग्दा सेवाग्राहीले बारम्बार विद्युत अवरोधको चपेटा खेपिरहनु परेको स्थानीयको गुनासो छ ।

अन्य

भिडियो