१६ वर्षीया बहिनीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१ जोगीदहका १९ वर्षीय दाजुलाई चार महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ ६ गतेको आदेशले कसुर गरेको ठहर गर्दै आरोपितलाई चार महिना कैद, ३ हजार ३३ रुपियाँ जरिबाना, पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका सूचना अधिकारी भेषराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई ०८० भदौ २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० असोज १५ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० असोज १८ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० भदौ ३१ गते गरिएको थियो ।