INSEC Online

📅 २०८३ जेष्ठ २१

देउमाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरणमा रोक

देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरूष, अविवाहित महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य भत्ता, ज्येष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा बाँड्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा रोक लगाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन र सङ्घीय मामिला मन्त्रालयले पत्रपठाएपछि सामाजिक सुरक्षा भत्ता राेकेको नगरपालिकाले जनाएको छ ।

देउमाई नगरपालिकाको आर्थिक वर्ष ०७५-७६ को नगरसभाले एकल पुरूष, अविवाहित महिला (४५ माथि), लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायतलाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

देउमाई नगरपालिकाले आर्थिक वर्ष ०८०-८१ सम्ममा १ सय ९८ जना एकल पुरूषले २३ लाख २७ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरूषलाई मासिक १ हजार रुपियाँ दरले भत्ता दिँदै आएको थियो ।

देउमाईले आर्थिक वर्ष ०७९-८० मा नगरक्षेत्रका २ सय ७ जना एकल पुरूषलाई २४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरूष भत्ता वितरण सम्बन्धी कार्यविधि’ पारित गरी एकल पुरूषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले बताउनु भयो ।

आर्थिक वर्ष ०८०-८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ जना महिलालाई १० लाख ८९ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनालाई ५ लाख ४५ हजार ५ सय रुपियाँ र आर्थिक वर्ष ०८०-८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले ५ लाख ४५ हजार ५ सय रुपियाँ भत्ता पाएका छन् ।

देउमाई नगरपालिका मेयर सूर्यप्रसाद पोखरेलले हाललाई केही भत्ता कार्यक्रम स्थगन गर्ने कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको बताउनु भयो । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

देउमाई नगरपालिका-३ की ५२ वर्षीया राधिका पराजुली ८९ वर्षीय बाबुको रेखदेख गर्नुहुन्छ । ‘बाबु छोरीलाई महिनादिन तेल खान पुग्दैथियो । बा को भत्ताले चामल, लत्ता कपडा र अन्य खर्च नै ठिक्क हुन्छ ।’ पराजुलीले भन्नुभयो ।

‘महिनामा एक हजार भएपनि दिँदै थियो । नदिने भएछ । नुन खान त पुग्दैथियो ।’ देउमाई नगरपालिका-४ का ६५ वर्षीय हर्कमान राईले भन्नुभयो,‘भत्ता बाड्छ की भनेको त दिँदै आएको पनि नदिने रहेछ ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरूष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन भए पनि सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने नगरपालिकाले निरन्तरता दिएको छ ।

देउमाईले सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत ५ हजार रुपियाँ दरले दुई पटकसम्म, दाहसंस्कारमा ५ हजार रुपियाँ र दीर्घरोगीलाई ५ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

अन्य

भिडियो