पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय शिक्षक खेमनाथ घिमिरेमाथि हातपात भएको छ ।
विद्यालय जाँदै गरेको अवस्थामा भदौ ४ गते पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनका रमेश भण्डारी, उनकी पत्नी मेनुका भण्डारीलगायतले हातपात गरेको पीडित शिक्षकको आरोप छ ।
शिक्षक घिमिरेमाथि आक्रमण भएपछि शिक्षकका पेसागत संस्थाले विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेका छन् ।
नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको पाथीभरा याङवरक गाउँपालिका समितिले छुट्टा-छुट्टै विज्ञप्ति जारी गर्दै शिक्षकमाथि हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
घटनाका बारेमा अनुसन्धान थालिएको र हातपात हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।