INSEC Online

📅 २०८३ जेष्ठ २१

कोल्डस्टोर प्रयोगमा नआउँदा कृषि उपजको भण्डारणमा समस्या, खाद्य सुरक्षामा चुनौति

म्याग्दीमा निर्माण भएका तीन ओटा शितभण्डार(कोल्डस्टोर) मध्ये दुई ओटा सञ्चालनमा नआउँदा कृषि उपजको भण्डारणमा समस्या हुँदा कृषकलाई सास्ती भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएका दुई ओटा कोल्डस्टोर सञ्चालनमा आउन सकेका छैनन् । बेनी नगरपालिकामा बनाइएको एउटा भने सञ्चालनमा आएको छ । आफ्नो कृषि उत्पादनलाई भण्डार गर्ने चाहना अनुरुप जनश्रमसहित निर्माण गरिएका कोल्डस्टोर सञ्चालनमा नआउँदा कृषकहरुमा निराशा छाएको छ । खाद्य भण्डारण नहुँदा खाद्य सुरक्षामा चुनौति आएको स्थानीयले गुनासो गरेका छन् ।

रघुगङ्गा गाउँपालिका–२ भगवतीमा १ करोड १३ लाख ४८ हजार ८ सय ८५ रुपियाँ लागत स्टमेट गरिएको कोल्डस्टोर निर्माणका लागि डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रालि काठमाडौँसँग ठेक्कामार्फत गाउँपालिकाले ९१ लाख २ सय १७ रुपियाँ २५ पैसामा सम्झौता गरेको थियो ।

कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको भए पनि निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि उक्त कोल्डस्टोर सञ्चालनमा आउन सकेको छैन । रघुगङ्गा गाउँपालिका–२ का अध्यक्ष अमृत भण्डारीका अनुसार भवन बनेको भएपनि भित्री कामहरु अझै पनि बाँकी रहेको हुनाले सञ्चालन गर्न नसकिएको हो ।

photo20240821myagdi (1)

तारबार गर्ने तथा भित्र आवश्यक पर्ने कृषिउपज राख्नका लागि आवश्यक पर्ने क्रेटलगायतका पूर्वाधार नहुँदा सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा सावित हुने अपेक्षा गरेको भए पनि सञ्चालन नै नहुने हो कि भन्ने डर हुन थालेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

रघुगङ्गा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती र ३ पिप्ले क्षेत्रमा सुन्तला जातका फलफूल तथा आलुलगायतका उत्पादनलाई कोल्डस्टोरमा राखेर बेमौसममा बिक्री गर्न सकेको खण्डमा कृषकले राम्रो मुल्य पाउने अपेक्षासहित निर्माण गरिएको भए पनि सञ्चालनमा आउन नसक्दा निराशा बढेको वडा अध्यक्ष भण्डरीको भनाइ छ ।

त्यस्तै रघुगङ्गा गाउँपालिका–६ झिँ उपभोक्ता समितिले २३ लाख ४६ हजार ६ सय ६७ रुपियाँमा सम्झौता गरेर निर्माण गरेको कोल्डस्टोर दुई वर्षसम्म पनि सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष मनबहादुर शेरपुञ्जाको भनाइ छ । गाउँपालिकाको १९ लाख ६० हजार रुपियाँ र उपभोक्ता समितिको २ लाख १७ हजार ६ सय ६० रुपियाँ बराबरको जनश्रमबाट २० मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण भएको भए पनि फिनिसिङ गर्नका लागि गाउँपालिकामा ताकेता गर्दा पनि बजेट निकासा नगर्दा सञ्चालन गर्न नसकेको उहाँको भनाइ छ ।

photo20240821myagdi (2)

‘कोल्डस्टोरमा रघुगङ्गा गाउँपालिकाको झिँ तथा पाखापानी एवम् बेनी नगरपालिकाको पात्लेखेतका कृषकले पनि आलु भण्डारण गर्नका लागि सेवा लिन सक्ने थिए तर गाउँपालिकालाई बजेट माग्दा सुन्दै सुन्दैन । कसरी सञ्चालन गर्ने ?’-वडा अध्यक्ष शेरपुञ्जाले भन्नु भयो ।

बेनी नगरपालिका–४ सिंगामा १ करोड ८३ लाख ४४ हजार ३ सय ७२ रुपियाँ लागत स्टमेट गरी निर्माण गरीएको सिंगा कोल्डस्टोर सञ्चालनमा आएको छ । ०७९ फागुन ४ गते निर्माण सम्झौता भएको उक्त कोल्डस्टोर ०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो । राजबाबु निर्माण सेवा राजकोट गाउँपालिका–५ जाजरकोट सँग सम्झौता भएको उक्त कोल्डस्टोर निर्माणका लागि १ करोड ५१ लाख २० हजार ७ सय ३८ रुपियाँमा सम्झौता भएकोमा १ करोड ३३ लाख ८ हजार ६ सय रुपियाँ भुक्तानी भएको बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिनु भयो ।

३ हजार टन क्षमता भएको उक्त कोल्डस्टोरमा निर्माण सम्पन्न भए पश्चात सुन्तलाको सिजनमा सुन्तला राखेर सफल परीक्षण गरेको उक्त कोल्डस्टोरमा अहिले आलु भण्डारण गरिएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनु भयो । अहिले म्याग्दी तथा बागलुङका कृषकहरुले ५० केजी तौल भएका ३ सय बोरा आलु राखेको उहाँले बताउनु भयो । प्रतिकिलो १० रुपियाँ शुल्क लिएर आलु राखिएको र अब सुन्तलाको सिजनमा सुन्तला राख्ने योजना रहेको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

अन्य

भिडियो