INSEC Online

📅 २०८३ जेष्ठ २१

१० बुँदे सहमति पछि आन्दोलन फिर्ता

झापामा क्रियाशील राजनीतिक दल र स्थानीय प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा-११ का ३२ वर्षीय नरेश थापाको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउन पहल गर्नेलगायतका १० बुँदे सहमति पछि झापामा चलेको आन्दोलन फिर्ता भएको छ ।

कात्तिक ११ गते  इलाका प्रहरी कार्यालय विर्तामोडमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई सो राहत उपलब्ध गराउन अबिलम्व गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको हो ।

झापा अर्जुनधाराका ११ वर्षीय लक्ष्मण सिवाकोटीको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले विर्तामोडमा गरेको प्रदर्शनका क्रममा झडप हुँदा कात्तिक १० गते अर्जुनधारा-११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो ।

बैठकले काजक्रिया खर्चबापत पीडित परिवारलाई ६० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि अर्जुनधारा र विर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति र विर्तामोड उद्योग वाणिज्य सङ्घले रकम उपलब्ध गराउनेछन् ।

झडपपछि कात्तिक १० गतेदेखि विर्तामोडमा लगाइएको कर्फ्यू भने अझै जारी छ । सर्वपक्षीय बैठकले मृतक थापाकी पत्नीलाई तत्काल अर्जुनधारा नगरपालिकामा रोजगारको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

पीडित पक्षको आन्दोलनमा दमन भएको निष्कर्षहित बैठकले इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी राजकुमार सिलवाललाई निलम्वन गर्न सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता एकराज कार्कीले जानकारी दिए ।

बैठकले प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार खर्च सरकारका तर्फबाट व्यहोर्नेसमेत निर्णय गरेको छ । शङ्कास्पद मृत्यु भएको भनिएका लक्ष्मण सिवाकोटीका सम्बन्धमा थप अनुसन्धान गरी कानुनी म्यादभित्र आरोपीलाई अदालतमा पेश गर्ने निर्णय भएको झापा प्रहरीका प्रमुख विष्णुबहादुर केसीले बताए ।

घटनामा परी इलाम जिल्ला दानावारी-५ का ३५ वर्षीय मणि नेपाली गम्भीर घाइते भएका छन् । उनको पेट, हात र पिठ्युँमा गोली लागेको छ । बीएण्डसी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । राजगढ- ८ का १८ वर्षीय सुनिल पाण्डे, अर्जुनधारा- ६ का ३५ वर्षीय पूर्ण लुइँटेल, मेचीनगर-९ का ३० वर्षीय अशोक बस्नेत र कन्काई-५ का २२ वर्षीय नवराज कोइराला घाइते छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार जारी छ ।

अन्य

भिडियो