जिल्ला अदालत, बाजुरामा विगत दुई महिनादेखि न्यायाधीश नहुँदा जिल्लाको समग्र न्यायसम्पादन प्रभावित हुँदो आएको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ विदामा बसेपछि जिल्ला अदालत, बाजुराको न्यायसम्पादन प्रभावित भएको हो ।
जिल्ला अदालत, बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ ०८१ असार पहिलो सातादेखि बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्यायसम्पदनका कामहरु प्रभावित भएका छन् ।
न्यायाधीश नहुँदा निमित्त श्रेष्तेदारले थुनक्षेक आदेश गरेका मुद्दाहरु न्यायाधीशले पुनर्बिचार गर्नु पर्ने हुन्छ । न्यायाधीशले पुनर्बिचार गरे मात्र पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छुट्ने वा पुनराबेदन गर्नेलगायत अन्य प्रकृयामा जान पाउने हुन्छ । न्यायाधीश नहुँदा यस्ता थुप्रै मुद्दाहरु रोकिएको जिल्ला बार एसोशियसन, बाजुराका अध्यक्ष पुरबहादुर रावतले बताउनु भयो । फैसला प्रकृया अगाडी बढेर पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा रोकिएर थप थुनामा बस्नु पर्ने बाध्याता भएको अध्यक्ष रावतले बताउनु भयो ।
यस आर्थिक वर्षबाट स्वचालित पेशी प्रर्णाली सप्टवयरबाट मुद्दा तारिक प्रकृया सुरु भएको छ । न्यायाधीश नहुँदा मुद्दाका पक्षले हरेक हप्ता तारिक लगाउने मात्र काम भएको र अन्य प्रकृया नै अगाडी बढ्न सकेको छैन् । भौगालिक विकटता रहेको यस जिल्लामा वर्षातको समय हरेक हप्ता तारिख लगाउन जिल्ला अदातमा आउने पर्ने बाध्यताले सेवाग्रहीहरु थप समस्यामा परेका छन् ।
दुई महिनादेखि विदा लिएर विदेश भ्रमणमा रहनुभएका न्यायाधीश श्रेष्ठ बिदेशबाट फर्किएलगत्तै काठमाडौँबाटै काज सरुवा हुनभएको छ । जिल्लामा न्यायाधीश आउने कुराको टुंगो नै छैन् । बिभिन्न शिर्षकका मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको पाइएको छ ।
जिल्ला अदालत, बाजुरामा आर्थिक वर्ष २०८० / ०८१ मा दुनियाबादी देवानीतर्फ पारिवारिक बिबादसम्बन्धी विवाहसम्बन्धी एक थान उजुरीमा एक थान बाँकी, सम्बन्धबिच्छेदका ३४ थान मुद्दा मध्ये १० थान मुद्दा फछ्यौट हुन बाँकी र अंशबण्डाका पाँच थान मुदा दर्ता भएकोमा तीन थान मुद्दा फछ्यौट हुन बाँकी रहेका छन् । सम्पत्ति सम्बन्धि लेनदेनतर्फ ६ थान मुद्दा मध्ये एक थान मुद्दा फछ्यौट हुन बाँकी रहेको छ ।
अनुसुची १ अन्तर्गत सरकारी फौजदारी मुद्दा छुवाछुत वा भेदभावसम्बन्धी दुई थान मुद्दा मध्ये एक थान फछ्यौट हुन बाँकी रहेको छ । बहुविबाहका ११ थान मुद्दा मध्ये सात थान फछ्यौट हुन बाँकी रहेका छन् । कर्तव्य ज्यानका ६ थान मुद्दा दर्ता भएकोमा तीन थान मुद्दा फछ्यौट हुन बाँकी छन् । त्यस्तै गर्भपतसम्बन्धी दुई थान मुद्दा मध्ये दुई थान फछ्यौट हुन बाँकी रहेका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी १२ थान मुद्दा दर्ता भएकामा सात थान मुद्दा बाँकी छन् । आत्माहत्या दुरुत्साहनसम्बन्धी पाँच थान मुद्दामा तीन थान मुद्दा बाँकी रहेका छन् ।
यसैगरी जबरजस्तीकरणीसम्बन्धी कसूरमा १८ थान मुद्दा दर्ता भएकामा १० थान फछ्यौट हुन बाँकी रहेका छन् । जवरजस्तीकरणी उद्योगमा तीन थान मुद्दा मध्ये एक थान फछ्यौट हुन बाँकी छन् । अनुसुची १ मा उल्लेखित विशेष ऐन अन्तर्गगतका सरकारी फौजदारी मुद्दा र अनुसूची ४ अन्तर्गत दुनियाबादी फौजदारीतर्फ अनुसूची १,२, र ३ अन्तर्गतका मुद्दाहरु पनि फछ्यौट हुन बाँकी छन् ।
आर्थिक वर्ष ०८० / ०८१ मा कुल १ सय ४९ थान मुद्दा जिल्ला अदालत, बाजुरामा दर्ता भएकोमा ८० थान मुद्दा फछ्याँैट भएका छन् भने ६९ थान मुद्दा फछ्यौट हुन बाँकी रहेको जिल्ला अदालत, बाजुराका निमित्त श्रेस्तेदार चेतबाहादुर बोहराले बताउनु भयो ।