धामी झाँक्रीको भर पर्दा सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीया धनशोभा कामीको मृत्यु भएको छ । गाउँका धामी झाँक्रीकै भरमा औषधि उपचार नगरेपछि कामीको मृत्यु भएको मृतकका पति दल कामीले बताउनु भयो ।
पुरानो संस्कार अनुसार धामी झाँक्रीलाई देखाए सन्चो भइहाल्छ भन्ने मान्यताले पत्नी गुमाउनु परेको कामीले दुखेसो पोख्नुभयो । आमाको मृत्युसँगै चार जना बालबालिकाको समेत बिचल्ली भएको जानकारी दिनुभयो । एक सातादेखि उच्च रक्त श्रावले थला पर्नुभएकी कामीको उपचार नपाएरै मृत्यु भएको हो ।
रक्तश्रावले थलिएकी धनशोभालाई सात/आठ गाउँका धामी झाँक्री राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको पति कामीको भनाइ छ । सर्केगाड गाउँपालिका–३ को गुसा लेखबाट सर्केगाड गाउँपालिका केन्द्र उपचारका लागि लैजाने क्रममा जोगीधार भन्ने ठाउँमा उहाँको मृत्यु भएको थियो । पत्नीको मृत्युपछि कामी साना चार जना छोराछोरी कसरी पाल्ने भन्ने चिन्तामा पर्नुभएको छ ।
कामीका दुई छोरा, दुई छोरी छन् । आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले बालबालिकालाई साँझ बिहानको छाक जुटाउन समेत मुस्किल भएको सर्केगाड गाउँपालिका–३ का स्थानीय जनक फडेराले जानकारी दिनुभयो । ‘बालबच्चाको पढाइ लेखाइ त परको कुरा भयो । पत्नी हुँदा कहिलेकाहीँ मजदुरी गर्न जिल्ला बाहिर जान्थे । अब बालबालिका कता छोडौँ के गरौँ भन्ने पिरलो थपिएको छ’, उहाँले भन्नुभयो ।
उहाँले बिरामी पत्नीलाई उपचार गराउन जिल्ला बाहिर लैजान रकम नभएपछ धामी झाँक्री गुहार्नु परेको बताउनु भयो । कामीले आँशु झार्दै भन्नुभयो, ‘गरिब भएर जन्मिनु पाप भयो । रुपियाँ नहुँदा पत्नी जोगाउन सकिनँ । चार जना बालबालिकालाई साँझ बिहानको छाक टार्नै मुस्किल भयो ।’ यस्तो समस्या हुने जानकारी भएको भए पहिले नै उपचारका लागि गुहार्न सुरु गर्थेँ ।’