आगोले जलेर पीडित हुनुभएकी जगन्नाथ गाउँपालिका–६ तल्लोकाप्रीकी ४० वर्षीया सुर्पना दमाईको परिवारहरु आर्थिक अभावका कारण बिचल्लीमा परेका छन् । एक वर्ष पहिला आगोले जलेर सुर्पनालाई सहयोगी निकायको सहयोगमा काठमाडौँमा उपचार भएको थियो । उपचारपछि घर फिर्ता हुनुभएको सुर्पना आर्थिक अभावका कारण थप उपचारका लागि अस्पताल जान सक्नुभएको छैन् ।
आर्थिक अभाव दयनीय भएकै कारण अहिले उहाँको सम्पूर्ण परिवारलाई बिहान बेलुकीको छाक टार्न र उपचार गर्न समस्या भएको छ । सुर्पनाको काठमाडौँमा फलोअप चेकजाँच गर्न जान पैसा नहुँदा घरमै थन्किएकी छन् । पति जैमन दमाइले पहिलेनै अर्को विवाह गरेर अलग बस्ने गरेका छन् । आँखासमेत नदेख्ने सुर्पनालाई अहिले चार परिवार पाल्न निकै धौँधौँ भएको छ ।
सुर्पनाको परिवारमा चरम खाद्य संकट समेत भएकाे छ । तीन छोरा र सुर्पना गरी चार जना परिवारलाई दैनिक छाक टार्न पनि निकै समस्या छ । उहाँ आँखा देख्नुहुन्न् । आँखा नदेख्ने भएपछि सुर्पना दमाई दिशा पिसाब समेत शरीरमै गर्न बाध्य छन् ।
सुर्पनाका १६ वर्षका छोरा राकेश, १३ वर्षका बिनोद र नौ वर्षका प्रकाश दमाइ रहेका छन् । उनीहरु स्थानीय विद्यालयमा पढ्ने भए पनि आर्थिक अवस्था कमजोर हुँदा पठनपाठनमा निकै समस्या उत्पन्न भएको स्थानीय नविन बिष्टले बताउनु भयो । विद्यालयको पोषाक र कापीकिताब बिनानै विद्यालय जाने गरेका छन् । सुर्पनाले गाउँघरमा मागेर र जेठो छोराले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् ।
गत वर्ष सुर्पना आगोले जलेको दुई महिनासम्म पनि उपचार नभइ अलपत्र परेकी थिइन् । अलपत्र परेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि उहाँलाई काठमाडौँमा रहेका बिभिएस नेपाल र मेडिकल पुनर्स्थापना केन्द्रको सहयोगमा उपचार गरिएको थियो ।
आगोमा परेर सुर्पनाको २०७९ पुस महिनामा दाँया हात खुट्टा जलेको र खुट्टा सन्चो भएपछि हातमा परेको गहिरो घाउ अहिलेसम्म पनि निको नहुँदा सुर्नयाले सास्ती खेप्नुपरेको स्थानीय सुर्जा बुढाले बताउनु भयो ।
दुवै आँखा नदेख्ने सुर्पनाको खाना पकाउने बेला चुलोमा परेर हात जलेका र आर्थिक अभावका कारण उपचार गर्न नसक्दा हातका औँलाहरु पुरै पाकेर गनाइरहेको अवस्थामा केही संस्थाहरुले उपचारमा सहयोग गरेको भए पनि थप उपचारमा समस्या भएका स्थानीय सुर्जा बुढाले बताउनु भयो ।
जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले आगोमा जलेको समयमा काठमाडौँ उपचारमा सहयोग गरिएको र थप उपचारका लागि समस्यामा परेको बारेमा आफूलाई जनाकारी नभएको बताउनु भयो । उहाँको आर्थिक अवस्था दयनीय भएकै कारण उपचारबाट वञ्चित हुनु नपर्ने, सम्बन्धित वडा अध्यक्षलाई उहाँको अवस्थाका बारेमा बुझ्न पठाएर समस्या समाधानका लागि पहल गरिने र बालबालिकाको पठनपाठनका लागि पनि गाउँपालिकाबाट सहयोग गरिने उहाँले बताउनु भयो ।