दिपायल सिलगढी नगरपालिका–८ गोदणागाउँका स्थानीयबासी वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। २ सय ५० घरधुरी रहेको यस गाउँमा खानेपानी समस्या समाधानका लागि तीनै तहका सरकारले पहल नगरेको स्थानीयहरुको गुनासाे रहेकाे छ ।
घण्टौँ हिँडेर खानेपानीको जोहो गर्न बिहानै अँध्यारोमा जानु पर्ने बाध्यताका कारण जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेको स्थानीय वीरबहादुर साउदले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘खानेपानीको जोह गर्न महिला तथा बालबालिकाहरु बिहानको झिसमिसेमा घण्टौँ हिँडेर कुवा र खोलाको मुलमा जानु पर्ने बाध्यता छ । महिला र बालबालिकाहरु पानीको जोह गर्न जाँदा असुरक्षित महसुस गर्दछन् । तीन तहका सरकार भने पनि हाम्रो आधारभूत अधिकारको समेत ख्याल गरिएको छैन् ।’
घन्टौँ हिँडेर पानी लिन जाँदा पालो कुरेर बस्नु पर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतिर कुवा, खोला र मुलको पानी पिउदा पानीजन्य रोग लाग्ने जोखिम रहेको स्थानीय चन्द्रभान साउदले बताउनु भयो ।

पानी लिन जाँदा धेरै समय खर्चिनु पर्ने बाध्यताका कारण बालबालिकाहरुलाई समयमै खाना तथा खाजा बनाउन ढिलो हुने भएकोले विद्यालय पठाउन समेत समस्या भएको स्थानीय चनी साउदले दु:खेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो – ‘पानीको अभावमा लुगा धुन, तरकारी खेती गर्न र सरसफाइमा समेत समस्या भएको छ । पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको छ ।’
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का स्थानीयहरुले खानेपानीको समस्या झेल्दै आएको भए पनि नगरपालिकाको बजेटले मात्रै सम्भव नभएपछि प्रदेश सरकार र संघीय सरकारसँग बजेटको व्यवस्था गर्न पहल गरिरहेको नगरप्रमुख बाजिसिंह खड्काले बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको भएता पनि गोदणा गाउँका स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।