१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको बाराहताल गाउँपालिका-५ का १९ वर्षीय संजिव नेपालीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ साउन २८ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरेश मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई नेपालीले ०८० पुस ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । नेपालीलाई प्रहरीले पुस १० गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १० गते भेरी अस्पतालमा भएको थियो ।
प्रहरीले नेपाली विरुद्ध ०८० माघ ५ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको माघ ७ गतेको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।