INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४६ वर्षीय महिलालाई ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याई बेचबिखन गरेको आरोपमा प्रहरीले झापा जिल्ला कमल गाउँपालिका–१ का घर भई गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलमा पीडित महिलाले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपछि प्रहरीले सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ ।

पीडित महिलाबाट २ लाख ५० हजार रुपियाँ लिई ०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भएको छ ।

अन्य

भिडियो