जाजरकोट बारेकोट गाउँपालिका–२ का ७७ वर्षीय दत्ते कामीको पुर्ख्यौली पेसा आरन हो । तर, सात वर्षदेखि उहाँले फामको काम गर्न छोड्नुभयो । कारण बारेकोटमा रहेको फलाम खानी सञ्चालनमा आएको छैन । गाउँ नजिकैबाट फलाम पाएपछि उहाँले औजार बनाएर बिक्री गर्नुहुन्थ्यो । त्यसैबाट महिनामा २० हजार रुपियाँसम्म कमाउनुहुन्थ्यो । जसले उहाँको नौ जना परिवारको खर्च धानेको थियो । सरकारी बेवास्ताका कारण आनी उपयोगविहिन र आयातित फलाम महङ्गो मुल्य पर्ने भएपछि आफूले यो पेशा गर्न छोडेको उहाँले बताउनु भयो ।
‘पहिला यही फलामखानीबाट ल्याएर औजारहरू बनाउँथे । खानीबाट निःशुल्क ल्याएका कारण सस्तोमा सामग्री बिक्री गरिन्थ्यो । तर अहिले खानी अलपत्र परेपछि फलामे औजार बनाउने पेसा छाडेको छु । बाहिरको फलाम किन्नलाई महङ्गो पर्छ । सामग्री पनि महङ्गैमा बेच्नुपर्छ । कसैले किनिदिँदैनन् । जसले जिन्दगाी चलाउन समस्या भएको छ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार बारेकोटको फलाम खानीमा ४० वर्षसम्म उत्खनन् तथा प्रशोधनको काम भएको थियो । वन विनाशका कारण उक्त फलामको धाउलाई प्रशोधन गर्न आवश्यक दाउराको अभावले पनि खानी बन्द हुँदै गएको छ । ‘चार/पाँच जनाले कोइला बालेर दिनभर आरनमा काम गर्दा १०/१२ किलो मात्र फलाम निकाल्न सकिने र औजार निर्माण गर्न एक दिन थप लाग्थ्यो । धाउ निकाल्ने, जङ्गलबाट काठ ल्याउने, कोइला बनाउने, धाउ पिट्ने, औजार निर्माण गर्नेलगायत परम्परागत प्रविधिको भर पर्दा बारेकोटी फलामबाट आम्दानी लिन नसकिएको हो’, स्थानीय विरबहादुर विकले भन्नुभयो । सुरुमा बारेकोट गाउँपालिका–५ स्थित रतनकोट धाउखानी सामुदायिक वन उपभोक्ता समूहले र पछि सरकारले खानी उत्खननमा रोक लगाएको उहाँले बताउनु भयो ।
बारेकोट गाउँपालिका–१, रामीडाँडामा साढे तीन दशक अघिसम्म दलित सुमदायका २० परिवार खानीबाट फलाम निकालेर बनाएका औजार बेचेरै आत्मनिर्भर बन्ने गरेका थिए । अहिले उक्त समुदाय फामको काम छोडेर ज्याला मजदुरीमा लागेका छन् । लामो समय सञ्चालनमा रहेको बारेकोटी खानी वन विनाश, सस्तो मूल्यको भारतबाट आउने फलाम गाउँमै उपलब्ध हुनु, उत्खनन् तथा प्रशोधनमा आधुनिक प्रविधि नभित्रिनु लगायत कारण अलपत्र परेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनु भयो ।
कर्णाली प्रदेशमा सुन, फलाम, तामा, रत्न पत्थर, फास्फोराइड, चुनढुङ्गा, युरिनियम लगायत ९१ ओटा खानीको पहिचान भएको छ । तर त्यसमध्ये ४३ ओटाको मात्र सम्भाव्यता अध्ययन गरिएको प्रदेश योजना आयोगले जनाएको छ । अध्ययन भएकामध्ये २८ ओटा खानीबाट स्थानीयले लामो समयसम्म खनिज पदार्थ निकाल्ने गरेका थिए । सरकारले सुरुमा अनुमति दिएर पनि नौ ओटा खानीको उत्खनन् बन्द भएको आयोगको तथ्याङ्क छ । कर्णालीमा खनिज पदार्थ उत्खननको सम्भावना प्रशस्त भए पनि धेरैजसो खानीको सम्भाव्यता अध्यय नै हुन नसकेको भूगर्भविद् चन्दन गिरीले बताउनु भयो । ‘कुनै समय परम्परागत तरिकाबाटै खानी सञ्चालनमा थिए । तर बाहिरका सामानको परनिर्भरता र सरकारी नियमनले ती पनि बन्द भए । कर्णालीका कम्तीमा १० ओटा मात्रै खानी भए पनि उत्खनन् गरी कर्णाली त्यही आयस्रोतले आत्मनिर्भर बन्न सक्छ’, उहाँले भन्नुभयो ।
खानी तथा भूगर्भ विभागले २०४० सालमा गरेको अध्ययन अनुसार सल्यानको कुमाख गाउँपालिकामा २१ वर्गकिमी क्षेत्रमा फलाम खानी फैलिएको छ । उक्त खानी उत्खनन् गर्न ०७६ सालमा सुवास कास्यपति इन्डस्ट्रिजले स्वीकृति लिएको थियो । ‘खानीमा कति फलाम छ र कति वर्षसम्म निकाल्न सकिन्छ भन्नेबारे अझै अध्ययन हुन सकेको छैन । प्रक्रिया नै झन्झटिलो छ । उत्खनन् हुन सके गाउँपालिकाको आम्दानी पनि बढ्थ्यो’, कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले भन्नुभयो ।
सल्यानकै शारदा नगरपालिकामा समेत ४० को दशकसम्म झन्डै एक वर्ष गाउँकै तामा र फलामखानीबाट स्थानीयले तामा र फलाम निकाल्थे । तर, अहिले उक्त खानी समेत सञ्चालनमा आउन सकेको छैन । खानी अलपत्र परेपछि स्थानीयहरू पेसाबाट पलायन भएका छन् । खाद्यान्नको समेत अभाव हुन थालेको बारेकोट गाउँपालिका–२, रोकायगाउँका भद्रवीर विकले बताउनु भयो । ‘पहिला यहीँबाट फलाम निकालेर हामी जिविका चलाउँथ्यौँ । अहिले खानी पनि जीर्ण छ । हाम्रो पेसा नै धरापमा पर्यो । न जग्गा छ, नत उत्पादन त्यसैले हामीलाई जिवविका चलाउन समस्या भएको छ’, उहाँले भन्नुभयो ।
हिजोआज आफू घर–गोठ बनाउने मिस्त्री पेसामा लाग्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार झन्डै साढे तीन दशक अघिसम्म स्थानीय दलित समुदायको जीवन निर्वाहको माध्यम नै फलामखानी थियो । पछिल्लो समय खानीबाट निकालिएका कच्चा पदार्थबाट विभिन्न धातु निर्माण गर्ने उद्योगसमेत बन्द भइरहेका छन् । आठ वर्ष अघिसम्म विश्वबजारमा अत्यधिक माग रहेको नीलो रङको रत्न पत्थर (काइनाइट) को उद्योग जाजरकोटको कुशे गाउँपालिका–५, टालेगाउँमा सञ्चालनमा थियो । उद्योग बन्द भएपछि स्थानीयको रोजीरोटी गुमेको छ । त्यसअघि झन्डै एक दशक टालेगाउँस्थित सौरेनीको खानीबाट उत्खनन् गरिएको रत्नपत्थर भारतको गुजरात र जयपुरसम्म पुग्ने गरेको थियो । भारतमा काइनाइटको गहना बनाई विश्वबजारमा निकासी हुने गरेको जाजरकोटका स्थानीय सरोज वलीले बताउनु भयो ।
खानी उत्खनन् गरी उत्पादित वस्तुलाई बिक्री गरेर कर्णालीका बासिन्दाको मुख्य आयस्रोत नै बनाउन सकिने प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले बताउनु भयो । ‘जडीबुटीपछि कर्णालीको मुख्य आयस्रोत खानी नै हो । कर्णालीमा हजारौँ टन परिमाणमा विभिन्न खनिज पदार्थ निकाल्न सकिन्छ । त्यसको सदुपयोग गर्न सके मात्र प्रदेश आत्मनिर्भर बन्न सक्छ’, शाहीले भन्नुभयो । खानीहरू उत्खनन् नहुँदा कर्णालीका झन्डै चार लाख युवा मजदुरीका लागि भारतमा जानुपर्ने बाध्यता रहेको पूर्व उपाध्यक्ष शाहीले बताउनु भयो ।
