सशस्त्र द्वन्द्वको समयमा राज्यको तर्फबाट गिरफ्तार गरी यातना पाएका पाँचपोखरी थाम्पाल गाउँपालिका–७ भोटेनाम्लाङका ६२ वर्षीय भाइकाजी गुरुङले न्यायका लागि पहल गरिदिन ०८१ साउन २४ गते इन्सेकसँग अनुरोध गर्नु भएको छ ।

सशस्त्र द्वन्द्वको समयमा ०५९ भदौमा तत्कालिन शाही सेनाले गिरफ्तार गरी पाँच दिनसम्म यातना दिएको पीडित गुरुङले इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा दिएको निवेदनमा उल्लेख छ । सेनाले गिरफ्तार गरी साविक भोटेनाम्लाङ्ग गाविसमा रहेको तत्कालिन सैनिक ब्यारेमा राखी यातना दिएको पीडितको निवेदनमा उल्लेख छ । माओवादीको आरोपमा गिरफ्तार गरी यातना पाएका पीडित गुरुङले हालसम्म कतैबाट राहत र न्याय समेत नपाएको उहाँको भनाइ छ ।
द्वन्द्वको समयमा सेनाले कुटपिट गरी यातना दिएकै कारणले हालसम्म पनि आफ्नो जिवन यापनमा ठूलो समस्या भएको पीडितले दिएको निवेदनमा उल्लेख छ । शान्ति प्रक्रियापछि जिल्ला प्रशासन कार्यालय, स्थानिय शान्ति समिति तथा राष्ट्रिय मानव अधिकार आयोगमा समेत राहत र न्यायको लागि निवेदन दिएको, तर कतैबाट राहत तथा न्याय नपाएको उहाँको गुनासो छ ।
सरकारद्वारा गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सूचना नपाएका कारणले आफूले निवेदन दिन नपाएकोले न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह गरेको यातना पीडित भाइकाजी गुरुङको भनाइ छ ।