INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमै उपचार नपाउँदा पहिरोमा परेर घाइते भएका जोगबहादुको मृत्यु

समयमै उपचार नपाउँदा बडिगाड गाउँपालिका–१० को पहिरोमा परेर गम्भीर घाइते हुनुभएका ७८ वर्षीय जोगबहादुर बुढामगरको मृत्यु भएको परिवारले जनाएको छ ।

साउन २२ गते बिहान ११ बजेर २० मिनेट जाँदा घर माथिबाट आएको पहिरोले जोगबहादुरको घर गोठ पुरेको थियो । पहिरोमा परेर जोगबहादुरको ढाड र टाउकोमा चोट लागेको थियो ।

तर, समयमै उपचार नपाउँदा जोगबहादुरको मृत्यु साँझ ६ बजेर ५० मिनेटमा भएको आफन्तले बताए । पहिरोमा परेर घाइते हुनुभएका जोगबहादुरले ७ घण्टासम्म उपचार नपाएपछि गाउँमै मृत्यु भएको हो ।

जोगबहादुरसँगै पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ । चार जनाको कुनै पत्तो लागेको छैन । अन्य नौ जना घाइतेले पनि उपचार पाउँ सकेका छैनन् ।

१९ वर्षीया रिमा पुन, ४६ वर्षीया सङ्गीता बुढा, ६० वर्षीया सुमित्रा बिक र नौ वर्षीय ज्ञाने बुढालाई साउन २३ गते बिहान मात्र पहिरो गएको स्थानबाट उद्दार गरेर नेपाली सेनाले बुर्तिवाङ स्वास्थ्य केन्द्र ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिनुभयो ।

पहिरोमा परेर घाइते भएका अन्य पाँच जनाको भने अझै उद्दार हुन सकेको छैन । २६ वर्षीय ओमप्रकाश पुन, २३ वर्षीया सिर्जना बिक, ४३ वर्षीय मङ्गलसेन बुढा, ५१ वर्षीय शशीराम बिक र ३१ वर्षीया सीता थापाको उपचार स्थानीय स्वास्थ्यकर्मीले गाउँमै गरिरहेका छन् ।

घाइतेको उद्दारका लागि काठमाडौबाट आएको हेलिकोप्टर खराब मौसमका कारण बडिगाडमा अवतरण हुन नसक्दा सदरमुकाममा रहेको नेपाली सेनाको २३ नं. बाहिनीमा अवतरण गरेको थियो । खराब मौसम, भौगोलिक विकटता, ठाउँठाउँमा गएको पहिरोका कारण समयमै घाइतेको उद्दार हुन सकेको छैन ।

पहिरोले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएपछि बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीको प्रयासमा हेलिकोप्टरमार्फत घाइतेको उद्दार गर्न प्रयास गरिएको भएपनि खराब मौसमका कारण उद्दार सम्भव हुन नसकेको डिएसपी यादवले बताउनु भयो ।

अन्य

भिडियो