जिल्लाको शारदा नदीमा निर्माणाधीन दुई ओटा पक्की पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकहरूलाई सास्ती भएको छ । ठेकेदारले विभिन्न बहाना बनाइ काम गर्न नमान्दा बाग्चौर–पातिहाल्ना सडक खण्डको बागचौर नगरपालिका–२, जङ्गारखोलास्थित शारदा नदी र श्रीनगर–डाँग्री–स्यानीखाल जोड्ने शारदा नगरपालिका–१, श्रीनगरस्थित शारदा नदीमा निर्माणाधीन पक्की पुल तीन वर्षदेखि अलपत्र पर्दा नागरिकहरूलाई सास्ती भएको हो ।
शारदा नगरपालिका–१, श्रीनगरस्थित शारदा नदीमा सडक डिभिजन कार्यालय, दाङको झन्डै १० करोड बजेटमा जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीले ०७८ मङ्सिरदेखि निर्माणको काम सुरु गरेको थियो भने बाग्चौर नगरपालिका–२ स्थित शारदा नदीमा पूर्वाधार विकास कार्यालय, सल्यानको ३ करोड ६२ लाखमा निशान प्रकृत्ति जेभीले ०७८ असार ९ मा सम्झौता गरी निर्माणको काम सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेको केही महिना नबित्दै दुवै पुलको काम रोकिएको थियो । रोकिएको काम सुचारु गर्न सम्बन्धित निकायले ताकेता गर्दै आए पनि ठेकेदारले त्यसलाई बेवास्ता गर्दै आएका छन् । पक्की पुल निर्माणको काम अलपत्र परेपछि निर्माण कम्पनीले छाडेका सामग्री अहिले पनि त्यत्तिकै खेर गइरहेका छन् । श्रीनगरस्थित शारदा नदीमा पिलर जडानका लागि खाल्डो खन्ने डिएमसी मेसिनले ड्रिल गर्ने क्रममा जमिनभित्र कडा चट्टान रहेको र मेसिन नै भाँचिएपछि निर्माण कम्पनीले काम सुरु गरेको चार महिना नबित्दै काम छाडेको थियो । बाग्चौर नगरपालिका–२ स्थित शारदा नदीमा पक्की पुल निर्माणका लागि पिलर जडानका लागि खाल्डो खनेर डिपीसी गरे पनि वर्षातको समयमा आएको बाढीले क्षति पुर्याएपछि निर्माण कम्पनीले दुई महिना नबित्दै काम छाडेको थियो ।
सुरुवाती चरणमै दुवै पुल निर्माणको काम हुन नसकी अलपत्र परेपछि अहिले वर्षातको समयमा शारदा नदि वारपार गर्न स्थानीयलाई समस्या भएको छ । स्थानीयहरू शारदा नदी वारपार गर्न विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । अहिले वर्षातले नदी बढ्दा नदि तर्न समस्या भएको शारदा नगरपालिका–१, मुलडाँडाकी स्थानीय विमला घर्तीले बताउनु भयो । पुल बन्न नसक्दा १५ मिनेट लाग्ने ठाउँमा पनि एक घण्टासम्म घुमेर आउजाउ गर्दा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । पातिहाल्नाका तेजबहादुर ओलीले पुल नबन्दा मोटरसाइकल शारदा नदीबाट वारपार गर्न नसकिने र जीर्ण झोलुङ्गे पुल प्रयोग गर्नु परेको बताउनु भयो । एम्बुलेन्स पनि खरिबोट हुँदै घुमाएर अस्पताल लैजानु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
सडक डिभिजन कार्यालय, दाङका सूचना अधिकारी इन्जिनियर उज्वलकुमार झाले पुल निर्माण स्थलको करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको र ठेकेदार कम्पनीले ल्याएको ठूलो मेसिनले चट्टानमा प्वाल पार्न नसकेपछि रोकिएको काम अहिले पनि सुचारु हुन नसकेको बताउनु भयो । ‘अहिलेको डिजाइन नबल्दासम्म ठेकेदारले काम गर्दिन भनेका छन् । हामीले फिल्ड रिपोर्ट माग गरेका छौँ । उनीहरूले पेस गरेका छैनन् । यसमै अल्झिएको छ’, उहाँले भन्नुभयो । शारदा नदीमा निर्माण सुरु गरिएको पुलको लम्बाई ६८ मिटर रहेकामा अहिलेसम्मको प्रगति शून्य जस्तै रहेको उहाँको भनाइ छ ।
यता पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर ओलीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि विभिन्न बहना बनाउँदै काम नगरेकाले पुलको काम दुई वर्ष भन्दा बढी समयदेखि रोकिएको बताउनु भयो । ०८२ असारसम्म म्याद रहेको पुलको पहिलो पिलरको डिपीसी गरेको र वर्षातको भेलले क्षति पुर्याएपछि त्यत्तिकै छाडेको उहाँको भनाइ छ । उहाँका अनुसार पक्की पुलको लम्बाई २५ मिटर रहेको छ ।
जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीका ठेकेदार केवी ओलीले कडा चट्टान भएकाले ठूलै मेसिनले पिलर निर्माण गर्ने प्वाल पार्न नसकेका कारण काम गर्न नसकेको र डिजाइन बदले मात्र काम अगाडि बढाउने बताउनु भयो । प्रकृति निसान जेभीका ठेकेदार अरविन्दकुमार राइले पहिला कार्यालयले काम गतिलो नभएको भन्दै रोकेको र पछिल्लो समयमा विभिन्न किसिमका समस्याका कारण काम गर्न नसकिएको बताउनु भयो ।
