नवदुर्गा गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्तता भएका व्यक्तिहरुलाई गाउँसम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको प्रभु बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

शिविर मार्फत चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिनु भयो । गाउँपालिकाका अध्यक्ष अवस्थीका अनुसार नवदुर्गा गाउँपालिका–५ को भूमिराज आधारभूत विद्यालय र विजयाशैनी माध्यमिक विद्यालय, चामाबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण सुरु गरिएको छ । ६० वर्ष भन्दा बढी उमेर भएका अशक्त र अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँको भनाइ छ ।
नवदुर्गा गाउँपालिका–५ चामाकी ६८ वर्षीय सुुन्नरी बिष्टले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैंकमा जानु पर्ने समस्याबाट मुक्ति पाएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘बैंक जान निकै समस्या हुन्थ्यो । गाउँमै आएर भत्ता पाउँदा सहज भएको छ ।’

नवदुर्गा गाउँपालिका–३ चिल्फीकी ८० वर्षीय धनादेवी साउद पनि गाउँमै भत्ता पाउदा खुसी हुनुहुन्छ । ‘गाउँपालिकाको केन्द्र सेरी बजार जान निकै सास्ती हुन्थ्यो । गाउँमै नगद भत्ता पाएपछि सजिलो भएको छ,’ उहाँले भन्नु भयो, ‘बृद्धभत्ता हाम्रो जीवनको साहारा भएको छ । यसले हाम्रो खर्च टर्छ, कसैसँग हात थाप्नु पदैन ।’
