INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह उद्योगका फरार बेहुला हाजिर

बालविवाह उद्योग गरेको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-३ दौलतपुर विसनरियाका १८ वर्षीय सञ्जयकुमार खत्वे ०८१ साउन १५ गते अदालतमा हाजिर भएका छन् ।

सप्तरी जिल्ला अदालतमा हाजिर हुनुभएका आरोपित खत्वे न्यायाधीश मणिराम न्यौपानेको इजलासबाट साउन १५ गते २५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा हुनुभएको अदालतले जनाएको छ ।

आरोपितमाथि बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलकी १९ वर्षीया युवतीसँग बालविवाह गर्ने प्रयास गरेको आरोप छ । बालविवाह गराउन खोजेको आरोपमा आरोपित खत्वेकी आमा ४२ वर्षीया बेल्हीबाली भनिने श्यामदेबी मण्डल ०८१ असार ४ गते गिरफ्तार हुनुभएको थियो । खडक नगरपालिका-२ बेल्ही टोलस्थित माइतीघरबाट छोरा सञ्जयलाई बेहुला बनाई बाजागाजासहित जन्ती पठाइरहेका बेला पुगेको प्रहरी टोलीले श्यामदेबीलाई गिरफ्तार गरेको थियो । जन्ती लिएर हिंडेका बेहुला उतिबेला गिरफ्तारीको डरले फरार भएका थिए ।

आरोपितविरुद्ध सुरुङ्गा नगरपालिकाको कार्यालयका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत सबिन सिंह चौधरीले असार ५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।

मधेस प्रदेशमा हालसम्म बालविवाह मुक्त घोषणा भएको दुई ओटा जिल्लामा २०७९ मङ्सिर १४ गते सुरुङ्गा नगरपालिका र २०८० पुस १३ गते खडक नगरपालिका बालविवाह मुक्त नगरपाालिका घोषणा भएको हो ।

सइ मंगनु दासको प्रतिवेदनसमेतमा इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितहरूविरुद्ध उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा असार १८ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश दीपककुमार दाहालको इजलासले असार २० गते आरोपित बालकका आमा २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा हुनुभयो ।

यस्तै साउन १३ गते हाजिर हुनुभएका बेहुलीका बुबा बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका ४६ वर्षीय पुरुष १५ हजार रुपियाँ धरौटीमा रिहा हुनु भयो ।

अन्य

भिडियो