INSEC Online

📅 २०८३ जेष्ठ २२

पूर्व राज्यमन्त्रीको हत्या आरोपित गिरफ्तार

मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या गरेको आरोपमा दुई जना गिरफ्तार भएका छन् ।

गिरफ्तार हुनेहरूमा पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवका भान्से कविलासी नगरपालिका-३ घर भई चन्द्रनगर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय रामउजैन राय र साेही ठाउँका ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । आराेपित रामउजैन रायलाई घटना भएकै दिन अनुसन्धानका लागि  प्रहरीले नियनत्रणमा लिएकाे थियाे भने अर्का आराेपित बिरेन्द्र रायलाई थप अनुसन्धान पश्चात साउन १३ गते गिरफ्तार गरी साउन १४ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।आरोपितहरूविरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई घटनाकाे अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै कृषि फारममा खेत रोपाइँको लागि आउनु भएका पूर्व राज्यमन्त्री यादवले राति खाना खाइसकेपछि उहाँलाई भेट्न तीन जना अपरिचित व्यक्तिहरू आएको आराेपित भान्सेले प्रहरीलाई बताएका थिए ।

त्यस्तै, साउन ७ गते मधेस प्रदेश प्रहरी कार्यालयका डिआईजी यज्ञ बिनोद पोखरेलले घटनाको स्थलगत अनुगमन गर्नु भयो र घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

शवकाे पोष्टमार्टम साउन ७ गते प्रादेशिक अस्पताल मलंगवा गरी सदगदका लागि साेही दिन परिवारजनकाे जिम्मा लगाएकाे डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो