सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयमा बालविकासमा एक सय जना विद्यार्थीले एउटै कक्षा कोठामा कोचाकोच गरी पढ्नु पर्ने बाध्यता रहेको छ । गत वर्षमा करिब ६० जना विद्यार्थी रहेको भएपनि यो वर्षको शैक्षिक सत्रदेखि विद्यार्थी बढ्दै गएपछि विद्यार्थीले कोचिएर एउटै हल कोठामा बसेर पठनपाठन गर्नु परेको हो ।
गाउँको नजिक सडक छेउमै विद्यालय भएका कारण १ र २ नम्बर वडाका सबै विद्यार्थी भर्ना हुँदा बालविकासका लागि निर्माण भएको भवनाको हलमा विद्यार्थी भरिभराउ हुने हुँदा पनपाठनमा समस्या भएको पञ्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले बताउनुभयो । शिक्षक बोहराले भन्नुभयो, “बालविकासको कोठा साँघुरो छ, दिउँसो आराम गर्ने समयमा थप समस्या बनाउने गरेको छ ।” बालविकासका लागि दुई कोठे भवन निर्माण भएपनि एउटै हलमा राखेर पठनपाठन गराउनु पर्दा समस्या हुने गरेको छ ।
कम्तीमा पनि तीन जना शिक्षकले उक्त सङख्या भएको विद्यार्थीलाई पठनपाठन गरिनु पर्नेमा शिक्षक अभावका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको शिक्षक सत्यदेवी उपाध्ययले बताउनुभयो । उहाँले विद्यालयमा शिक्षकहरूको अभावले विद्यार्थीको पठनपाठनलाई प्रभावित बनाएको बताउनुभयो । उपाध्ययले बालविकासमा अध्ययन गर्दै आएका एक्क सय जना विद्यार्थीलाई पठनपाठन गराउँदै आउनु परेको गुनासो गर्नुभयो । बालविकासका लागि शिक्षक अभाव हुँदा फागुनमा सुरु भएको शैक्षिक सत्रदेखि विद्यार्थीलाई एक जना शिक्षिका उपाध्ययले पठनपाठन गराउँदै आउनु परेको हो ।
एउटै हलमा ठूलो सङ्ख्याको विद्यार्थी कोचिएर बस्नु पर्ने बाध्यताका साथैे पढाइमा समेत बाधा पुग्ने गरेको शिक्षक उपाध्ययले बताउनुभयो । साविक वडा १ देखि ६ सम्मका दुई ओटै वडाका सबै बालबालिका बालविकासमा भर्ना भएपछि यस्तो समस्या आएको उहाँको भनाइ छ । एउटै कोठामा वडा एक र दुईका बालबालिका बढी हुँदा पढाइमा समेत समस्या भएको हो ।
ठेहे गाउँ जिल्लाको सबै भन्दा ठूलो र बढी जनसङ्ख्या भएको गाउँ हो । यस्तै कक्षा पाँचसम्म रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षकको समेत अभाव भएको छ । तीन जना स्थायी र तीन जना अस्थायी शिक्षक भएपनि अन्य माथिल्लो तहका कक्षाका विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको प्रधानध्यापक विष्णु बोहराले बताउनुभयो । गाउँपालिकालाई शिक्षक अभावको विषयमा जानकारी गराएपनि सुनुवाइ हुन नसकेको प्रधानध्यापक बोहराको भनाइ छ । त्यस्तै कक्षा एकदेखि पाँचसम्म ८५ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।
उक्त विषयमा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायालाई बुझ्दा उहाँले आगामी वर्षको बजेटबाट सो विद्यालयको बालविकास कक्षालाई व्यवस्थित गर्ने प्रतिक्रिया दिनुभयो ।

