सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् ।
काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी ठूला सवारी साधन सञ्चालन गरेका कारण पहिरोलगायतका जोखिम बढेको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् ।
क्षतिपूर्तिका लागि सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका स्थानीयले १ सय सदस्यीय सङ्घर्ष समिति गठन गरी काबेली हाइड्रो कम्पनीका सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
सिरिजङ्गा गाउँपालिका-२ का चक्रबहादुर खड्कोको अगुवाई र विजय खड्काको संयोजकत्वमा क्षतिपूर्तिका लागि काबेली हाइड्रो कम्पनीविरुद्ध सङ्घर्ष समिति गठन गरिएको संयोजक खड्काले बताउनु भयो । समिति गठनपछि ०८१ साउन ११ गते स्थानीयले काबेली हाइड्रो कम्पनीका सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
पीस इनर्जी कम्पनीद्धारा सञ्चालित काबेली हाइड्रोसहित सम्पूर्ण हाइड्रोका गाडी पूर्ण रूपमा बन्द गरिएको सङ्घर्ष समितिले जनाएको छ । स्थानीयले राखेको मागको वेवास्ता गरे त्यसले कम्पनीलाई ठूलो क्षति हुने स्थानीयले चेतावनी समेत दिएका छन् ।
काबेली हाइड्रो निर्माणका क्रममा ०८१ असार २५ गते घर लडेर पुरिँदा गम्भीर घाइते हुनु भएका खेमराज अधिकारीको उपचार एवम् जीवन रक्षाका लागि १० लाख रुपियाँ क्षतिपूर्ति, र अन्य पाँच जनालाई जनही १ लाख रुपियाँ क्षतिपूर्ति काबेली हाइड्रोले दिनुपर्ने स्थानीयले माग राखेका छन् । आयोजनाले भौतिक पूर्वाधार निर्माणका क्रममा बमले पहाड फुटाउँदा घर, सडक एवम् अन्य भौतिक संरचनामा क्षति भएकाले त्यसको क्षतिपूर्ति समेत दिन स्थानीयले माग गरेका छन् ।
हाइड्रो पावर कम्पनीले सम्पूर्ण संरचनागत भौतिक एवम् मानवीय क्षतिको आवश्यकता अुनसार समाधान गर्न माग सङ्घर्ष समितिले माग गरेको छ ।
सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन २८ दशमलव १ मेगावाटको काबेली जलविद्युत आयोजना निर्माणको कारणले गर्दा स्थानीयको घर भत्किएर ६ जना घाइते भएकोको स्थानीयको आरोप छ ।
निर्माणाधीन आयोजनाका कारण विस्तारै घर कटान भएका, ०८१ असार २५ गते घर भत्किएकाले गर्दा विद्युत आयोजनासँग क्षतिपूर्तिको माग गरिएको समितीका सदस्य राजेन्द्र कुँवरले बताउनु भयो ।
काबेली जलविद्युत आयोजनाका कारण आम्बेगुदिन अति प्रभावित क्षेत्र भएकोले क्षतिपूर्तिको माग गरिएको कुँवरले बताउनु भयो ।
पहिराले ०८१ असार २५ गते आम्बेगुदिन हप्पुखोला बस्तीमा घर भत्किँदा सोही ठाउँका ४३ वर्षीय खड्ग बाँनिया, उहाँकी ३८ वर्षीया पत्नी जानुका बाँनिया, ३० वर्षीय सुविना बाँनिया, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीय तीलमाया विक र १० वर्षीय बालक रोहित विक गरी ६ जना घाइत हुनु भएको थियो ।
वातावरण संरक्षण ऐन, २०५३, वातावरण संरक्षण नियमावली २०५४ र जलविद्युत विकास नीति, २०५८ का कतिपय व्यवस्थाहरू परियोजनाले कार्यान्वयन नगर्दा क्षतिपूर्ति नपाएको र स्थानीयले पहिरोलगायतका जोखिमको सामना गर्नु परिरहेको छ ।

