सुदूरपश्चिम प्रदेशमा ०८१ असार तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका पीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका छन् ।
बाढीपीडित भएर विस्थापित भएको दुई साता बितिसक्दा पनि आफूहरुले उचित राहत पाउन र पुनर्स्थापना हुन नसकेको जिल्लाका बाढीपीडितहरुले दुखेसो पोख्नुभएको छ ।
अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका तथा वर्षाका कारण जनधनको क्षति व्यहोरेका पीडित परिवारहरु उद्धार तथा राहतका लागि गुहार मागिरहेका छन् । जिल्लाको पश्चिम सीमावर्ती दोधाराचाँदनी नगरपालिका–३ पटराखल्ला गाँउका बाढीपीडित पुनर्स्थापनाको अभावमा विद्यालयमै बस्न बाध्य छन् ।

जोगबुढा नदी गाँउमा उर्लिएपछि पटराखल्लाका २७ परिवार विस्थापित भएका थिए । गाँउमा बाढी गएपछि घरभित्र हिलाम्मे भएर खेतबारी बालुवामा परिणत भएपछि उहाँहरु घर फर्किन सक्नुभएको छैन् । बाढीका कारण विस्थापित २७ परिवार मध्ये १६ परिवार गाँउकै जमुना आधारभूत विद्यालयमै आश्रय लिएर बसेका छन् भने १० परिवार आफन्तको घरमा बस्दै अउनुभएको छ ।
महाकाली नदी र दोदा नदीमा आएको बाढीका कारण विस्थापित भएका दोधाराचाँदनी, बेलौरी, पुर्नवास, कृष्णपुर, लालझाँडी, बेलडाँडी र भीमदत्त नगरपालिकाका १ हजार भन्दा बढी पीडितहरुले प्रदेश र संघीय सरकारबाट राहत पाउन नसकेको गुनासो गर्नुभएको छ ।

दोधराचाँदनी नगरपालिका –३ जामनभाडीस्थित जमुना आधारभूत विद्यालयको चार कोठामा अझै पनि १६ बाढीपीडित परिवार बस्न बाध्य छन् । चार कोठा मध्ये एक कोठामा ६ महिने शिशुको आमा सहित पाँच परिवार कष्टकर रुपमा बस्न बाध्यभएका छन् । बाढीबाट विस्थापित भएका रामसरा सुनारका ६ महिने शिशु सहित रामसरा सुनार, गंगादेवी सुनार, बिमला सुनार, चन्द्र सुनार र गोपाल सुनारको परिवार एकै कोठामा कष्टकर रुपमा बस्दै आउनुभएको हो ।
६ महिने शिशुकी आमा देवसरा सुनारले बाढीबाट ज्यान जोगाएर विद्यालयमा आएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘घर हिलाम्मे र खेत पुरै पटान भएको छ । घरमा फर्किएर बस्ने अवस्था नै छैन् । सन्तानको सुरक्षाका लागि विद्यालयमा कष्टकर रुपमा बस्दै आएका छौँ । लगाउने लुगालगायत खाद्यान्न सबै नष्ट भयो । म ६ महिनाकी सुत्केरी हु यस्तो अवस्थामा पौष्टीक आहार त परै जाओस दुई छाक टार्न नी धेरै गाहे छ । यसरी चिसो भुईमा सुत्दा बच्चाआमा बिरामी परिएला भन्ने डर एकातिर छ । सरकारले हाम्रो उचित व्यवस्था गरी दिनु पर्यो ।’

सोही कोठामा बस्दै आएकी ७० वर्षीया गंगादेवी सुनारले बाढीले घरभित्र भएको अन्नबाली, राशन, लत्ता कपडा नष्ट गरिदिएपछि बाध्य भएर कोचाकोच गरेर एकै कोठामा बस्नु परेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो–‘हरेक वर्ष बाढीका कारण हामीले दुःख पाउने गरेका छाँै । अब त कि बाँध कि उचो ठाँउमा बस्ती पुनर्स्थापना गरीदिनु प¥यो । विद्यालयको बसाई बाँच्न र बृद्धबृद्धाहरुलाई कष्टकर भएको छ ।’
बाढीका कारण विस्थापित भएकाहरु दुई सातादेखि विद्यालयमा बस्दा विद्यालय नियमित सञ्चालनमा समेत समस्या भएको जमुना आधारभूत विद्यालयका प्रधानाध्यापक महादेव भट्टले बताउनु भयो ।
वर्षे विदा लगत्तै विद्यालय खुले पनि अफिस बाहेक सबै कक्षाकोठाहरुमा बाढीपीडित बस्दै आउनुभएकोले विद्यालय सञ्चालनमा समस्या भएको उहाँले भनाइ छ ।

विस्थापित भएको दुई साता वितिसक्दा पनि राहत नपाइएको भीमदत्त नगरपालिका–१३ पिपरैयाकी गंगादेवी भुलले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘बाढीबाट विस्थापित भएको दुई हप्ता हुन थाल्यो । सरकारले आश्रय स्थलमा चाउचाउ, चिउरा र एक छाक खाना दियो । तेस्रो दिन घर फर्किएँ । बाढीले घरमा भएको अन्न समेत नष्ट भएकाले दैनिक गुजारा गर्न धौँधौँ भइरहेको छ । भुँइमा सुत्नु पर्ने बाध्यताले बिरामी भइएला भन्ने डर छ ।’
बाढीले अन्नबाली र धनजनको क्षति भएको भए पनि अहिलेसम्म राहत नपाएको पिपरैयाकै भीमलाल दमाईंले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘असार २१ गते घर डुबानमा परेपछि आश्रय लिन विद्यालयमा गयौँ । विद्यालयमा बस्दा खाना दिइएको थियो । घर आउँदा खाली हात फर्किनु प¥यो । घरमा अन्न र रासन भिजेर नष्ट भएको छ । के खाने कसरी गुजारा चलाउने समस्या उत्पन्न भएको छ ।’

भिमदत्त नगरपालिका –१३ की ६५ वर्षीया विस्नादेवी पन्तको घर बाढीले बगाएपछि उहाँको पनि बिचल्ली भएको छ । उहाँले भकानिँदै भन्नु भयो– ‘बाढीले हाम्रो बिचल्ली नै गरेको छ । अब कहाँ बस्ने ? के खाने ३० वर्षदेखि एक्लै त्यही झुप्रोमा बस्दै आएकी थिए । सहारा कोही छैन् । छोरा भारतमा भए पनि लामो समयदेखि सम्पर्कमा छैन् । बाढी गाउँमा पसेपछि प्रहरीले उद्धार गरेको थियो । पानी रोकिएपछि बस्तीमै छु । क्षतिग्रस्त झुप्रो हेरेर बसेकी छु । सुत्नका लागि नजिकैको विद्यालयमा जाने गरेकी छु । मागेर जोहो गरेको चामल, पिठो बाढीका कारण नष्ट भयो । घरभित्र बस्न सक्ने अवस्था छैन् । विद्यालयमा चाउचाउ, चिउरा दिएको थियो । तर, चपाएर खानै सकिनँ ।’
बाढीका कारण घर डुवानमा पर्नुको साथै घर भित्र रहेका, लत्ताकपडा, भाँडाकुँडा र अन्न नष्ट भएको भए पनि हालसम्म राहत पाउन नसकेको आरक्ष पीडित समुदायका मधुवा चौधरी, हिरासिंह भण्डारी र मधु बोहराले दुखेसो पोख्नु भयो ।

बाढीले घरमा भएको सम्पूर्ण खाद्यान्न, खेतमा लगाएको अन्नबाली ,लत्ताकपडा बच्चाहरुका कपी, किताब नष्ट गरी दिएपछि विहानबेलुकीको छाँक टार्न नै समस्या उत्पन्न भएको भए पनि सरकारबाट राहत पाउन नसकेको दोधराचाँदनी नगरपालिका–३ की विमला सुनार, झलारी गाउँपालिका–५ की २७ वर्षीया सुत्केरी शान्ति लुहार, लालझाडीकी बाढीपीडित मानमती तिरुव, पुर्नवास नगरपालिका साम चौधरी, दोधाराचाँदनी नगरपालिका–५ कुतियाकबरका केशव थापामगर लगायतका बाढीपीडितले गुनासो गर्नु भयो ।
दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले पटराखल्लाका बाढीपीडितको अल्प तथा दिर्घकालिन बसोबासका लागि कार्यपालिका बैठकबाट निर्णय गरिने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले पटराखल्लाका बाढीपीडित विद्यालयमै बसेका छन् । बस्ती बाढीको उच्चजोखिममा परेको छ । दिर्घकालिन योजना बनाएर समाधान गछौँ ।’
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पटराखल्ला बाहेक जिल्लाभरीका सम्पूर्ण बाढीपीडित घर फर्किनुभएको र बाढीबाट प्रभावित भएकाहरुलाई स्थानीय तहले राहतको व्यवस्था गरेको बताउनु भयो ।

बाढीबाट प्रभावित भएका व्यक्तिहरुको तथ्याङ्क संकलन कार्य स्थानीय तहबाट भइरहेको र स्थानीय तहले तथ्याङ्क उपलब्ध गराईसकेपछि थप राहत तथा पुनर्स्थापनाका लागि माथिल्लो नियममा पठाइने उहाँको भनाइ छ ।