हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम म्याग्दी हुँदै बागलुङको ढोरपाटन, जलजला तथा रुकुम जोड्ने बेनी–दरवाङ सडकले पनि पटकपटक सास्ती दिएको छ । पछिल्लो समय बेनी–दरवाङ सडक बिचमा केही समय खुलेको भए पनि लगातार १० दिनसम्म अबरुद्ध हुँदा पश्चिम भेकमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको समेत अभाव सृजना भएको थियो ।
त्यसैगरी रघुगंगा बेल्डमा पर्ने गलेश्वर–मौवाफाँट हुँदै कुइनेमंगले जाने सडकको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा गत असार ८ गते बिहान पहिरो जाँदा अबरुद्ध भएको सडक एक महिनादेखि खुल्न सकेको छैन । गलेश्वर–कुइनेमंगले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीका साथै त्यस क्षेत्रमा निर्माणधीन अवस्थामा रहेका तीन ओटा जलविद्युत आयोजनाको सामग्री ढुवानीमा समेत समस्या भएको रघुगंगा गाउँपालिका–२ का युवा झलक आचार्यको भनाइ छ । मलाङमा गएको ठूलो पहिरोले गर्दा त्यस क्षेत्रमा जाने यातायात बन्द हुँदा जलविद्युतका साथै कुइनेमंगले लगायतको क्षेत्रमा सोझो यातायात सेवा बन्द भएको छ ।
वर्षातको समयमा सडक अबरुद्ध हुने समस्या निकै भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । मनसुन सुरु भएपछि जिल्ला भित्रबाट १ सय ३ जना विस्थापित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । २४ वटा घर र एउटा प्रहरी बिट बिस्थापित भएको म्याग्दी जिल्लामा ६ घर र १ गोठ पूर्ण रुपमा क्षती भएको छ ।

