INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व मुख्यमन्त्रीले धम्की दिएको पीडितको आरोप

ताप्लेजुङ जिल्ला, सिरिजङघा गाउँपालिका-४ स्थायी घर भइ सामाजिक विकास मन्त्रालय, विराटनगरमा सचिव पदमा कार्यरत ५३ वर्षीय लक्ष्मीप्रसाद भट्टराईले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले ०८१ साउन ७ गते फोन गरी कुटपीट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको पीडित सचिवको आरोप छ ।

पीडितले आरोपितविरूद्ध साउन ७ गते नै जिल्ला प्रशासन कार्यालय, मोरङ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा उजुरी दिनु भएको  छ ।

मुख्यमन्त्री कार्कीले खेलकूदको पैसा निकासाको विषयमा लिएर फोनमार्फत धम्की दिएको सचिव भट्टराईको आरोप छ ।

मुख्यमन्त्री कार्कीले साउन ७ गते फोन गरी खेलकूदको पैसा निकासा नभए चुट्ने र शौचालयमा थुन्ने धम्की दिएको पीडित सचिवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

‘खेलकूदको पैसा निकासाको लागि अर्थमन्त्रालयले सहमति नदिए कारण निकासा हुन नसकेको सचिव भट्टराईको भनाइ छ । तर, मुख्यमन्त्री कार्कीले आफूलाई कुट्ने धम्की दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा उजुरी दिएको हुँ’ सचिव भट्टराईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नु भयो ।

पूर्व मुख्यमन्त्रीले सचिवलाई धम्की दिएको र सचिवले सुरक्षाको व्यवस्था गरिदिन र धम्की दिने पूर्व मुख्यमन्त्रीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा साउन ७ गते उजुरी निवेदन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो । उहाँले सचिवज्यूको शान्ति सुरक्षाका लागि व्यवस्था गरिसकिएको र आरोपितलाई कारबाहीका लागि जिल्ला सुरक्षा समितिमा छलफल गरी निर्णय लिइने बताउनु भएको छ ।

घटनाका विषयमा जानकारी लिन इन्सेक प्रतिनिधिले पूर्व मुख्यमन्त्री केदार कार्कीलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।

अन्य

भिडियो