INSEC Online

📅 २०८३ जेष्ठ २१

मनसुनजन्य विपद् : कोशीका हिमाली र पहाडी जिल्लाका धेरै घरधुरी जोखिममा

कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा मनसुनजन्य विपद्का घटनामा अधिकांश घरधुरी जोखिममा देखिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाले मनसुन अवधिभर बाढीपहिरोले कोशीका जिल्लामा घरधुरी उच्च जोखिममा देखाएको हो ।

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनका कारण असार समान्तसम्म २४ जना बढीको बाढीपहिरोमा परी मृत्यु भएको छ । सयौँ घरहरू बाढीपहिरोमा बगेका छन् ।

फाइल तस्विर- ताप्लेजुङको फक्ताङलुङ्ग गाँउपालिकामा गएको पहिरो ।
फाइल तस्विर- ताप्लेजुङको फक्ताङलुङ्ग गाँउपालिकामा गएको पहिरो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका झण्डै १ हजार घरधुरी मनसुनजन्य विपद्को जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा मनसुन अवधिभर बाढीपहिरोले जिल्लामा १ हजार घरधुरी प्रभावित हुने तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लामा बाढी भन्दा पहिरोको जोखिम धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । जस अनुसार बाढीबाट १ सय ४३ ओटा घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । पहिरोबाट ८ सय ५० बढी घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको जिल्ला विपद व्यवथापन समिति ओखलढुङ्गाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले बताउनु भयो । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका-६ र ७ को नदी तटीय क्षेत्र तथा चम्पादेवी गाउँपालिका-१ पलापुका नदी किनारमास्थित बस्ती बाढीको जोखिममा छन् । नदी किनारमा बस्ती विकास हुँदै जाँदा ती क्षेत्र बाढीको जोखिममा रहेकोले तत्काललाई सतर्कता अपनाउँदै दीर्घकालीन समाधानको उपाय पनि खोज्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो । जिल्लाका अधिकांश स्थानीय तहमा पहिरोको जोखिम रहेकाले जोखिम क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ । विकासका नाममा जथाभावी डोजर चलाइनु, अव्यवस्थित तथा अवैज्ञानिक बसोबास र भौगालिक अवस्थाका कारण जिल्लाका सात भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । उच्च जोखिम क्षेत्रमा मनुसनका बेला सकेसम्म बसोबार नगर्ने र दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन गरेर पहिरो नियन्त्रणको उपाय अपनाउनु पर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बेलैमा रोकथामको उपाय नगरे जुनकुनै बेला ती क्षेत्रमा ठूलो जनधनको क्षति हुनसक्ने भएकाले अप्रिय घटना हुन नदिन सबै सरोकारवाला जुट्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ । जिल्लामा मनसुन सुरूआत भएयता एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । भौतिक क्षति समेत हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेम्टर मनिष लुइटेलले बताउनु भयो । सुनकोशी गाउँपालिकाको चौतारा माध्यमिक विद्यालय डाँडाखर्कको खेलमैदान छेउबाट पहिरो गई जोखिममा रहेको छ । मानेभन्ज्याङ गाउँपालिकाको विद्याकालिका आधारभूत विद्यालको शौचालय नजिकबाट पहिरो गई विद्यालय जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनुसुनको बेला बाढी पहिरोको जोखिम जुनकुनै बेला पनि हुनसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला नागरिकमा जिल्ला विपद् व्यवस्थापन समिति, प्रहरी, जनप्रतिनिधि, रेडक्रस लगायतका निकायले आग्रह गरेका छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार हिमाली जिल्ला ६ सय भन्दा बढी घरधुरी पहिरोको उच्च जोखिमा रहेको तथ्याङ्कले देखाएको छ । जिल्लाका आठ ओटै स्थानीय तहको  तथ्याङ्क अनुसार ६ सय भन्दा बढी घरपरिवार पहिलो उच्च जोखिममा देखिएका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा मनसुन अवधिभर बाढीपहिरोले जिल्लामा ६ सय घरधुरी प्रभावित हुने तथ्याङ्क सार्वजनिक गरेको छ । सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा २५ घरघुरी पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका-१ नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनु भयो  । थुलुङ दुधकोशी गाउँपालिका-७ को लुरुवा, वडा-९ को लिखेप, फलाटे, वडा-३ पञ्चन, वडा-१ नेलेका  ५० घरधुरी  भन्दा बढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले पहिचान गरेको छ । लिखुपिके गाउँपालिकामा करिब ५५ ओटा घरधुरी जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ ओटा घरधुरी जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । राहत तथा उद्दारका लागि प्रत्येक वडा-वडामा  उद्दार सामाग्री, राहतलगायतका सामाग्रीको व्यवस्थापन भइसकेको छ । माप्य दूधकोशी गाउँपालिकाको वाप्सास्थित तामाखानी क्षेत्र, बोधु, अँधेरी, लगायतका ३ सय भन्दा बढी घरधुरी पहिरोको जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष गौरब राईले बताउनु भयो । सोताङ गाउँपालिकामा चार ओटा घरधुरी जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । विगतमा जोखिम रहेको स्थानहरूमा तारजाली, पर्खाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनु भयो ।   खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचेलगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिकाले जनाएको छ । नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिका उपाध्यक्ष वीना राईले बताउनु भयो । सडक निर्माण र खोला नजिकै घर बनाएकाले पहिरोको जोखिम बढेको गाउँपालिका उपाध्यक्ष राईको भनाइ छ । ५ सय रोपनी खेती योग्य जमिन र  १ सय हेक्टर बन क्षेत्र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपालका ७७ जिल्लामध्ये सोलुखुम्बु विपद् जोखिमको २३ औ स्थानमा छ । जिल्ला प्रसाशन कार्यलयका जिल्लामा वार्षिक रूपमा २५ घरपरिवार पहिरोका कारण विस्थापित हुने गरेका छन् । प्रमुख  जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका संयोजक देवी पाण्डेले स्थानीय तहसँग समन्वय गरी रोकथाम, राहत तथा उद्दारको काम गरिरहेको बताउनु भएको छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा एक वर्षको अवधिमा विपद्जन्य घटनाका कारण नौ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०८०-०८१ मा प्राकृतिक विपद्जन्य घटनामा जिल्लामा नौ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आवमा जिल्लामा विभिन्न ६४ ओटा विपद्का घटनामा नौ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जिल्ला प्राकृतिक जोखिमका हिसाबले उच्च अवस्थामा रहेको बताउनु भयो । उहाँका अनसार जिल्लामा एक वर्षको अवधिमा बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटनामा नौ जनाको ज्यान जानुका साथै ६४ ओटा घर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले गत आवमा राहत सहयोगबापत विपद् प्रभावित परिवारलाई २४ लाख ८ हजार रुपियाँ रकम वितरण गरेको जानकारी दिएको छ ।

अन्य

भिडियो