सिमकोट र नाम्खा गाउँपालिका बीच भागमा पर्ने पाखामाट्न गाउँका १५ घरधुरी परिवार खानेपानीबाट वञ्चित भएका छन् ।
गत असार १८ गतेदेखि परेको अविरल वर्षासंगै आएको बाढी पहिरोले खानेपानीको मुहान बगाएर लगेपछि उक्त क्षेत्रका नागरिक शुद्ध पिउने पानीबाट वञ्चित भएका हुन् ।
तीनसातादेखि खानेपानीको मुहान बगाएपछि हाल सो क्षेत्रका स्थानीय हेप्का खोलाको धमिलो (फोहोर) पानी प्रयोग गर्न बाध्य भएको स्थानीयबासी जानकी शाहीले गुनासो गर्नुभयो । उहाँका अनुसार खोलाको धमिलो पानी प्रयोग गर्दा बालबालिका र ज्येष्ठ नागरिकलाई पखाला लाग्ने, पेट दुख्ने जस्ता रोगहरूको संक्रमण देखा पर्ने गरेको छ ।
शुद्ध पिउने पानी नभएपछि आफ्नो ५ वर्षीय छोरालाई पखालाले सताएको गुनासो गर्नुभयो । बिरामी भएर नजुक अवस्था भए पनि नजिक औषधि उपचार गर्ने ठाउँ नभएका कारण अधिकांश स्थानीय नागरिकले सास्ती खेप्नु परेको अर्का स्थानीयबासी जैदन शाहीले गुनासो गर्नुभयो ।
पाखामाट्न गाउँमा सिमकोट गाउँपालिका–७ का १० र नाम्खा गाउँपालिका–१ का पाँच गरी १५ घरधुरी बसोबास गर्दै आएका छन् ।
यस अघि प्रयोग गर्दै आएको उक्त खानेपानीको मुहान मर्मतका लागि सिमकोट गाउँपालिका–७ का वडा अध्यक्ष बलविर शाहीलाई बुझ्दा उहाँले यो समय उक्त बस्तीका लागि केही पहल गर्न नसकिने प्रतिक्रिया दिनुभयो ।