काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकालाई ०८१ साउन ३ गते प्रहरीले उद्धार गरेको छ ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई उद्धार गरेको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनु भयो ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी मिश्रले बताउनु भयो ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई साउन ३ गते नै गिरफ्तार गरि मानव बेचबिखन विरुद्धको मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।