INSEC Online

📅 २०८३ जेष्ठ २१

भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका

नीलकण्ठ नगरपालिकाबाट नगरपालिका कार्यालयबाट सात किलोमिटरको दुरीमा रहेको तीनघरे गाउँका दलित समूदायका बालबालिका गरिबीका कारण भोकै विद्यालय जानु बाध्य छन् भने लगाउने लुगा अभावले च्यातिएको लुगामा गुजारा गरिरहेका छन् ।

नीलकण्ठ नगरपालिकाले निशुल्क शिक्षाको घोषणा गरेर कार्यान्वयन गरेको छ । गरिबीहरूका लागि धेरै योजनाहरू लयाएको छ । दलित समूदायबाट नीलकण्ठ नगरपालिकाको बजेट निर्माण गर्ने स्थानमा उपप्रमुख दिपक विश्वकर्मा हुनुहुन्छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गाना पञ्चायतकालमा प्रधानपञ्च भएदेखि राजनीति गर्दै दोश्रो कार्यकालमा नगर प्रमुख हुनुहुन्छ ।

तर नीलकण्ठ नगरपालिका वडा नम्बर २ तीनघरे, तारे होटल समेत भएको सदरमुकामबाट सात किलोमिछरको दुरीमा भए पनि तीनघरेका दलित समूदायका बालबालिका एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ ।

photodhading20810404

सरकारको ठूला योजना र स्थानीय सरकारले ब्याख्या गरेको निःशुल्क शिक्षा भनिए पनि यहाँका बालबालिकाहरूको तस्वीर हेर्दा सो पुरा हुन नसकेको देखिन्छ ।

तीनघरेको अन्नपूर्ण आधारभुत विद्यालयमा सरकारले प्रति विद्यार्थी १५ रुपियाँको दरले दिने खाजा खर्चले दिउँसो १ बजे खाजा खाने व्यवस्था भएकोले खाजाकै आशामा भए पनि सो समूदायका बालबालिका विद्यालय भने जाने गरेका छन् ।

सरकारले दिएको खाजाको १५ रुपैयाँले नपुग्ने भए पनि कहिलेकाँही आफ्नो खर्च कटाएर भए पनि शिक्षकहरूले  विद्यार्थीहरूलाई मासु समेत खुवाउने गरेको छन् ।

यसैबीच नियमित खाजाको समयमा जस्तै खाजा खाने समयमा विद्यालय पुगेका चार जना विद्यार्थीको अवस्था भने फरक छ ।

कक्षा १ का ६ वर्षीय  रामशरण मिजार र उनका दाई ७ वर्षीय  राजेन्द्र मिजार अरु विद्यार्थीभन्दा छुट्टै बस्नु पर्ने बाध्यता छ । घुँडामा च्यातिएको पाइन्ट, एक जना शिक्षकले दिएको टिसर्ट, खाली खुट्टामा विद्यालयमा उपस्थित हुन्छन् ।

सबै जसो विद्यार्थी विद्यालय पोशाका भए पनि उनिहरु दाजुभाइ विद्यालय पोशाकमा जान सक्दैनन् । उनीहरूको बाध्यता त्यहि एउटा पोशाक राती सुतेको बेला पनि लगाउनु पर्ने रहेको छ ।  रामशरण र राजेन्द्र मात्र होइन उनिहरुका दिदी ९ वर्षीया पार्वती मिजार पनि सोही विद्यालयमा कक्षा ४ मा अध्ययन गर्नुहुन्छ । मिजार परिवार नुवाकोटको तारुकाबाट तीनघरे आएर बसेको र यहाँ जग्गाजमीन समेत नहुँदा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छ ।

दुई वर्षअघि उनिहरूका बाबु राजकुमार मिजारले गरिबीका कारण झुण्डीएर आत्महत्या गरे ।  तीन महिनाअघि उनिहरूको आमा जुठी मिजार परिवार पाल्न नसकेपछि बालबालिकालाई बचाउने उपाय खोज्दै कुबेत पुगेको र बालबालिकाहरू मामा घरको ७५ वर्षीया हजुरआमाकोमा छाडेर गएपछि उनिहरू बिचल्लीमा परेका छन् ।

नीलकण्ठ नगरपालिकाले केही समय अघि विद्यालय बाहिर भएका बालबालकालाई विद्यालयमा आउन पोशाक झोला दियो । यो परिवारको तीनजनाले त्यो पनि पाउन सकेनन् । किनकि उनिहरू खानेकुरा खोज्दै गाउँतिर पुगेका थिए । सायद त्यसदिन उनिहरूले गाउँका मानिस नगरपालिकाले दिने भनेको बच्चाको झोला लिन गएपछि यि तीनजना बालबालिका भोकै परे ।
बिहान उठेपछि धेरैजसो दिन ज्यालागरेर हजुरआमाले पकाएको खाना खाने तीनैजना बालबालिकाहरू कहिलेकाँही भोकै विद्यालय आउने गरेको शीक्षक राजेन्द्रले नेपाल इन्सेक अनलाइनलाई बताउनुभयो ।

बिहान उठेपछि घरमा खानेकुरा नभएको दिनमा उनिहरू गाउँ चार्न निस्कन्छन् । गाउँलेले दया गरेर दिए खाने गर्छन् नदिए भोकै विद्यालय पुग्छन् । दिउँसोको विद्यालयको खाजा खानेसमय कुरेर निन्याउरो मुख लगाएर बसिरहन्छन् । खाजा खाएपछि बल्ल उनिहरूको अनुहार उज्यालो देखिन्छ ।
तीनघरेको सो विद्यालयमा उनिहरूजस्ता सात जना बालबालिका छन् जो खाजा खानका लागि विद्यालय आउँछन् । विद्यालय पोशाक र स्टेशनरी समेत नभएपछि उनिहरूको लागि निशुल्क शिक्षाको कार्यक्रमले बेवास्ता गरेको जस्तो महसुस गरेका छन् ।

कक्षा ५ सम्मको पढाइहुने अन्नपूर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी रहेकोमा ५० जना दलित विद्यार्थीमात्र रहेको विद्यालयका प्रधानाध्यापक उर्मिला तिमल्सीनाले बताउनुभयो ।

उनिहरू अत्यन्त गरिब परिवारका बालबालिकामात्र भएकोले सामान्य जिवन यापनका लागि समेत कठिन रहेको छ । विद्यालय पोशाक, विद्यार्थीलाई खाजा त उनिहरूले धान्ने सकेका छैनन् ।
भोटमाग्ने बेला सबै राजनीतिक दल र उम्मेदवारहरु पुगे पनि गरिबी र दुखको मलम लगाउन भने कोही आएका छैनन् । भोटमाग्न आउँदा मासुभात दिन्छन् । एक छाक खायो भोट दियो सकियो । त्यपछि गाउँबासीका लागि विद्यालय भवन यति हो । गाउँबासीको आम्दानी हुने र जिवन परिवर्तन हुने कार्यक्रम गाउँबासीका लागि नआएको एक जना अभिभावकले विद्यालयमा पुगेर इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

अन्य

भिडियो