धरान उपमहानगरपालिका-८ की २८ वर्षीया पत्रकार रञ्जीता धमलालाई हातपात गरेको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान(घोपा) मा उपचारका क्रममा ०८१ साउन २ गते पुगेको अवस्थामा आफूमाथि ६ जनाले हातपात गरेको पत्रकार धमलाको आरोप छ ।
पत्रकार धमलामाथि हातपात गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै धरान उपमहानगरपालिका-१५ की ४२ वर्षीया चन्द्रकला थेवे, धरान-१९ की ३५ वर्षीया मुना राई, धरान-१७ की ५६ वर्षीया प्रमिला राई, धरान-१८ की ३२ वर्षीया सिर्जना वेघा, धरान-११ की ४५ वर्षीया शर्मिला राई र ५२ वर्षीया शर्किनी थापा मगरलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।
प्रहरीले आरोपितविरूद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्गले नगरमा मनमौजी गरेको विषयमा पत्रकार धमलाले समाचार लेखेपछि मेयरका समर्थकले हातपात गरेको पीडित पत्रकारको भनाइ छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।