त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले आगामी ६ कात्तिकमा बस्ने मन्त्रीपरिषद बैठकले माथेमा आयोगको प्रतिवेदन तथा आफूले उठाएका अधिकाश माग समेट्ने गरी सरकारले अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा ऐन २०७४ ल्याउने प्रतिबद्धता जनाएपछि कात्तिक १ गते अनसन तोडेका छन् ।

१३ औँ पटक अनसन बसेका केसीले १४ औँ दिनमा अनसन तोडेका हुन् । बालिका रोजिना तामाङको हातबाट मह र पानी पिएर उनले अनसन तोडेका हुन । अनसन तोडनु अघि डा.केसी र सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयका सचिव इन्द्रप्रसाद उपाध्यायबिच १० बुँदे सहमति भएको थियो ।
मन्त्रीपरिषद बैठकले अध्यादेशमार्फत ऐन पारित नल्याए आफ्नो अनसन फेरी जारी राख्ने डा. केसीले बताएका छन् । सात ओटै प्रदेशमा सरकारले मेडिकल कलेज स्थापना गर्ने, मेडिकल शिक्षा शुल्क घटाउने, पुर्वाधार बिना सम्बन्धन दिएको नेशनल मेडिकल कलेजबारे उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको आधारमा दोषी देखिएकालाई कारबाही गर्नेलगायतका विषयमा कुरा मिलेपछि अनसन तोडिएको जनाइएको छ ।