INSEC Online

📅 २०८३ जेष्ठ २१

बजारमा म्याद नाघेका सामान विक्री हुँदा उपभोक्ता मारमा

जिल्लाको सदरमुकाम सिमकोटका पसलमा म्याद नाघेका बिस्कुट, चाउचाउ, हलुवा पकाउने पिठो, तेल, मसला, चिउरालगायतका सामग्री व्यापारीले विक्री वितरण गरेपनि सम्बन्धित निकायबाट अनुगमन नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकामस्थित बजारमा रहेका पसलमा एक वर्षदेखि अनुगमन नगर्दा अधिकांश पसलमा म्याद नाघेका सामान विक्री वितरण भएको स्थानीयले आरोप लगाएका छन् । ०७३ असोज ९ गते सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाको संयोजकत्वमा बजार अनुगमन समिति गठन भएपनि एकवर्षबितिसक्दा समेत (०७४ कात्तिक १ गतेसम्म) बजार अनुगमन भएको छैन । पसलेले ग्राहकलाई बेच्न राखेकामध्ये म्याद नाघेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजारमा देखिएका स्थानीयको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाका अनुसार यो जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीको हो । सहायक प्रजिअ बिदामा घर गएकोले यो समस्याको समाधान हुन नसकेको र आफू भर्खरै आएकोले अन्य कुरा थाहा नभएकाले पनि यस्तो समस्या भएको उनको भनाई छ । अब तिहार सकिए लगत्तै बजार अनुगमन गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी बास्कोटाले बजारमा म्याद नाघेका मदिरा, फ्रुटीलगायतका पेय पदार्थ र औषधिसमेत विक्री वितरण भइरहेको भन्ने उजुरी प्राप्त भएकोले प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिने बताए ।

अन्य

भिडियो