अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ साउन १ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ ।
कारागारमा ३ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भए तापनि ४ सय ५२ जना कैदी, २ सय ४८ बन्दी गरी ७ सय ६४ जना रहेको जिल्ला कारागार प्रमुख अर्जुन शाहले जानकारी दिनुभयो । कारागारमा ६४ जना भारतीय नागरिक र १० जना ज्येष्ठ नागरिक रहेको उहाँले बताउनु भयो ।
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा छालारोगको समस्या भएको र एउटै कोठामा ४५ जनासम्म कोचिएर बस्नुपर्ने समस्या रहेको उहाँले बताउनु भयो । साथै दैनिक दिइने ८० रुपियाँ र ७ सय ग्राम चामल कैदीबन्दीहरूलाई नियमित रूपमा उपलब्ध गराइएको उहाँको भनाइ छ ।
अत्यधिक गर्मीका कारण कैदीबन्दीहरूमा छाला रोगको समस्या भएको छ । कैदीबन्दीहरूले शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने र खानेपानीको समस्या भएको उनीहरूको भनाइ छ । कारागारमा केही कैदीबन्दीहरू बिरामी भएकोलाई सहज रूपमा भित्रको कम्पाउण्डमा हिँड्डुल गर्न, ज्येष्ठ नागरिकहरूलाई शारीरिक अवस्था अनुसार बस्न, खान र सुत्ने व्यवस्था मिलाइएको कारागार प्रमुख शाहले उल्लेख गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवम् एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्ल, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रलेख अधिकृत सोम नेपालीले जिल्ला कारागारको अनुगमन गर्नुभएको हो ।

