राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको राससले जनाएको छ ।
दीपावली तथा छठ पर्वका अवसरमा असोज ३० गते राष्ट्रपति निवास (शीतल निवास)मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताएकी हुन् ।
राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गरेको र पार्टीहररू बिचको एकता हुँदै गरेको सन्दर्भलाई उनले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रूपमा लिएको बताए ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुङ्गोमा पुर्याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित नौ दलका नेताहरू सम्मिलित थिए ।
यस्तै, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए ।