INSEC Online

📅 २०८३ जेष्ठ २२

अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान

जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ ।

दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार ३० गते गाउँपालिकाले सम्मान गरेको हो । प्रत्येक जोडीलाई नगद ५ हजार रुपियाँ, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले बताउनु भयो । गाउँपालिका दलित र गैरदलितविच वैवाहिक सम्बन्ध कायम भएका १६ जोडीलाई निमन्त्रणा गरिएको भएपनि जिल्ला बाहिर रहेकाले १० जोडी मात्रै सम्मान कार्यक्रममा सहभागी भएको सूचना अधिकारी लिम्बूले बताउनु भयो ।

मेरिङदेन गाउँपालिका-१ को एक जोडी, वडा-२ का तीन ओटा जोडी, वडा-३, ४ र ५ का एक-एक जोडी र सबैभन्दा बढी वडा-६ का नौ जोडी गरेर कुल १६ जोडीले दलित र गैर दलित विच वैवाहिक सम्बन्ध कायम भएको थियो । दलित र गैर दलितविच वैवाहिक सम्बन्ध कायम भएका जोडीलाई सम्मानसहित छुवाछूतविरूद्धको छलफल तथा सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको हो ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरहाङ्गाम (डम्बर) ले मेरिङदेन गाउँपालिकालाई छुवाछूत मुक्त स्थानीय तह घोषणा गर्ने अभियान स्वरुप स्थानीयले दलित र गैर दलितबिच वैवाहिक सम्बन्ध कायम गर्ने जोडीलाई सम्मान गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,“ हामी हाम्रो गाउँपालिकालाई छुवाछूत मुक्त स्थानीय तह घोषणा गर्नका लागि  काम गरि रहेका छौँ । जस अनुसार हामीले रेडियो प्रचारप्रसार कार्यक्रम, जनचेतनामुलक गोष्ठी, सार्वजनिक स्थलमा  जनचेतनामुलक होर्डिङ बोर्डहरू राखेका छौँ ।  त्यस अन्तरगत कै यो गैरदलित र दलितबिच वैवाहिक सम्बन्ध कायम भएका जोडीहरूलाई उहाँहरूको आत्मसम्मानलाई थप मजबुत बनाउन र समाजमा सकारात्मक सन्देश दिन सम्मान कार्यक्रम गरेका हौँ ।”

नेपाल दलित मुक्ति सङ्गठन केन्द्रीय सचिव नेत्र नेपालीले छुवाछूत तथा विभेद अन्त्य गर्न दलित समुदायलाई कुनै बाख्रा, कुखुरा, मेसिन बाँड्नुको सट्टा छुवाछूत भेदभाव गर्ने समुदायमा जनचेतना जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । जिल्लामा नै पहिलो पटक २०७२ सालमा तत्कालीन नाल्बु गाउँ विकास समितिलाई छुवाछूत मुक्त गाउँ विकास समिति घोषणा गरिएको स्मरण गर्दै अरूलाई भनेर बस्नु भन्दा सुरूआत आफैँबाट गुर्न पर्ने आवश्यकता औँल्याउनु भयो ।

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य गङ्गा शङ्करले गाउँपालिकाले सबैभन्दा बढी दलित समुदायको शिक्षाको स्तर उकास्न लागि पर्नु पर्ने सझुाव दिनुभयो । उहाँले आफ्नो क्षमता भएपनि आर्थिक अवस्था कमजोर भएका कारण दलित समुदायका छात्रछात्राले पढ्न सक्ने अवस्था नभएकोले यसतर्फ स्थानीय तहले ध्यान दिन जरूरी रहेको बताउनु भयो ।

दलित मुक्ति सङ्गठन केन्द्रीय सल्लाहकार सदस्य कुमार सिवाले विकास निर्माण भनेको भौतिक विकास मात्रै नभएकोले सामाजिक विकासतर्फ पनि ध्यान दिन सुझाव दिनुभयो । विगतमा आफूले अन्तर जातीय विवाह गरेका कारण ज्यान मार्ने धम्की समेत सहनु परेको उल्लेख गर्दै सम्मानित भएका देउमान नेपालीले स्थानीय तहले सम्मान गर्दा आफूलाई खुसी लागेको बताउनु भयो ।

मेरिङदेन गाउँपालिकाले जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्न चालु आर्थिक वर्ष २०८० ८१ मा मात्रै सचेतानामूलक होर्डिङ बोर्ड टाँस्ने, रेडियो कार्यक्रम साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।

Photo 20240713 Taplejung (7)

Photo 20240713 Taplejung (6)

Photo 20240713 Taplejung (4)

Photo 20240713 Taplejung (3)

Photo 20240713 Taplejung (2)

Photo 20240713 Taplejung (1)

अन्य

भिडियो