१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-२ मैनाकडेरीका २८ वर्षीय मो. खुर्सिद भनिने कुर्सिद मियाँलाई ०८१ असार ३० गते १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले १८औं पेशीमा आरोपितलाई कसुरदार ठहर गर्दै १८ वर्ष कैदका साथै ५० हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्ने र २ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको अदालतले जनाएको छ ।
घरका अभिभावकहरू विहान खेत गएका बेला आएका आरोपितले ०७६ असार ८ गते मुख थुनेर बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितले घटनाबारे जानकारी दिएपछि पीडितकी आमाले कुर्सिदसहित तिरहुत गाउँपालिका-२ मैनाकडेरीका २५ वर्षीय गुलाब मन्सुरीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार ८ गते नै उजुरी दिनुभएको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ८ गते स्वास्थ्य परिक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७६ असार १० गते उजुरी दर्ता गरेको थियो ।
आरोपितहरू फेला नपरेपछि जिल्ला अदालतमा ०७७ जेठ ११ गते अभियोगपत्र दायर भएकोमा अदालतले सोही दिन आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले आरोपित मन्सुरीलाई ०७७ असोज ३० गते गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालको इजलासले मन्सुरी ०७७ कात्तिक १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलासले ०७८ पुस २१ गते मन्सुरीलाई अभियोगबाट सफाई दिदै कुर्सिदको हकमा मुद्दा मुल्तबी राख्ने फैसला गरेको थियो ।
जिल्ला अदालतमा ०८० जेठ ४ गते आरोपित कुर्सिद हाजिर भएपछि सोही दिनदेखि उनी जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको ०७८ पुस २१ गतेको इजलासले मुल्तबी भएको मुद्दा उनी हाजिर भएपछि जेठ ४ गते जागेको थियो ।