INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या कसुरमा जन्मकैद

डाक्नेश्वरी नगरपालिका-९ सखुवाका ६० वर्षीय सुखदेव मण्डललाई हत्या गरेको कसुरमा उनका छिमेकीहरू ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुर्कन भनिने देवेन्द्र महतो, ४० वर्षीय उमेश महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी प्रसाद यादवलाई ०८१ असार २८ गते जन्मकैदको सजाय भएको छ ।

अन्य आरोपितहरू सोही ठाउँका ४० वर्षीया निलमदेबी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहताका हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय भएको अदालतले जनाएको छ ।

आरोपितहरूले ०७७ जेठ १० गते कुटपिट गरी हत्या गरेको भन्दै मृतकका छोरा अशोककुमार मण्डलले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा ०७७ जेठ ११ गते उजुरी दिनुभएको थियो । कुटपिटबाट घाइते अशोकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि बिराटनगर भर्ना गरिएकोमा जेठ १० गते राति १२ बजे मृत्यु भएको थियो ।

मण्डल परिवार र मेहता परिवारबीच जग्गा सम्बन्धी भएको विवादमा मुकेश मेहताको निर्माणाधिन घरका लागि ल्याएको काठको चौखट प्रहारबाट मण्डलको मृत्यु भएको नगरपालिकाका निवर्तमान प्रमुख शिवनारायण साहले जानकारी दिनुभयो । शवको पोष्टमार्टम धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७७ जेठ १२ गते भएको थियो ।

मृत्युको खबरसँगै आरोपितहरू फरार भएका थिए । फरार आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयले ०७७ जेठ १३ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतबाट ०७७ जेठ ३२ गते आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

कुटपिटबाट घाइते ३६ वर्षीय जानकीदेबी खंग र बिन्देश्वर खंग मण्डलको राजविराजस्थित अस्पतालमा जेठ १० गतदेखि १२ गतेसम्म उपचार भयो । सामान्य घाइते ७५ वर्षीय लक्ष्मी महतो, आरोपितहरू मुकेश र देबेन्द्रको स्थानीय क्लिनिकमा जेठ १० गते उपचार भएको थियो ।

जिल्ला अदालतमा ०७८ जेठ ६ गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले ०८० भदौ २१ गतेदेखि आरोपित उमेश महतो पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।

जिल्ला अदालतमा ०८० मंसिर २५ गते, ०७८ फागुन २२ गते र ०७८ फागुन १६ गते हाजिर भएका आरोपितहरू शिवनारायण महतो, देवेन्द्र महतो, रामनारायण महतो पुर्पक्षका लागि कारागारमा थुनामा छन् । अदालतका अनुसार आरोपित तुलसी पुर्पक्षका लागि धरौटी राखेर तारेखमा रिहा भएका छन् । आरोपितहरू निलमदेबी र उनका छोरा मुकेश हालसम्म फरार छन् ।

अन्य

भिडियो