अन्नपुर्ण गाउँपालिकामा अहिले सम्म पनि कुल घरधुरी संख्याको झण्डै १९ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुग्न सकेको छैन ।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्य अनुसार हाल गाउँपालिकाको ८१.०५ प्रतिशत घरधुरिमा मात्रै खानेपानीको पहुँच पुगेको छ । गाउँपालिकाले यो अवस्थालाई आगामी आर्थिक वर्षमा बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ को अन्त्य सम्ममा गाउँपालिका भित्रका कुल घरधुरी संख्याको ९० प्रतिशत घरपरिवारहरुमा खानेपानीको पहुँच पुग्ने छ । शतप्रतिशत घरधुरिमा खानेपानीको पहुँच पुग्न अझै अर्को वर्ष सम्म पनि पर्खन पर्ने अवस्था देखिएको गाउँपालिकाले जनाएको छ ।
अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५३ करोड २४ लाख ४३ हजार रुपियाँको बजेट पेश गर्नु पूर्व नीति तथा कार्यक्रममा अध्यक्ष पुनले गाउँपालिकाको खानेपानीको पहुँचको बारेमा जानकारी गराउनु भएको थियो । उक्त नीति तथा कार्यक्रम र बजेट पारित भएकोले अगामी आर्थिक वर्षको अन्त्य सम्म ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।