महादेवा गाउँपालिका-१ चिम्टीमा सञ्चालित स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) मा कार्यरत २८ र ४२ वर्षीया मनोविमर्शकर्ता र २५ वर्षीया सहयोगी कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको घटनाका आरोपितहरूविरुद्ध ०८१ असार १६ गते अभद्र व्यवहारको उजुरी दर्ता भएको छ ।
स्नेह केन्द्रमा २०८१ असार ९ गते मध्यराति महादेवा गाउँपालिका-१ स्थित सरदार टोलका २५ वर्षीय इनर सरदार, २५ वर्षीय अर्जुन सरदार, २१ वर्षीय किश्वर सरदार र २६ वर्षीय रामचरण सरदारले यौनजन्य दुर्व्यवहार गरेको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा असार १० गते मौखिक र असार १४ गते लिखित उजुरी दिनु भएको थियो ।
आगलागी पीडित र प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्थापना भएको स्नेह केन्द्रको ढोकामा आरोपितहरूले खुट्टाले हिर्काउँदै कार्यरत मनोविमर्शकर्ताहरूलाई अश्लिल र अपमानजनक भाषा प्रयोग गरी ढोका खोल्न दवाव दिएको, मौखिक यौनजन्य दुर्व्यवहार गर्दै इच्छाविरुद्धको यौनजन्य प्रस्तावहरू राखेको पीडितहरूले बताउनु भएको छ । प्रहरी चौकी बथनाहाबाट तत्कालै पुगेका दुई प्रहरीलाई समेत आरोपितहरूले आक्रमण गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले पीडितहरूलाई सुरक्षा दिएका थिए ।
इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलसहित स्नेह केन्द्रको टोलीले असार १० गते जिल्ला प्रहरी कार्यालयमा एसपी गजु सिद्दी ब्रजाचार्यसमक्ष आरोपितहरूमाथि कारबाहीका लागि र असार १२ गते जिल्ला प्रशासन कार्यालयका सिडिओ मेखबहादुर मंग्रातीसमक्ष शान्ति सुरक्षाको माँग गर्दै निवेदन दिएको थियो ।
ओरेकका अध्यक्ष सविता पोखरेलले जेठ १३ गते गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था गर्न, दोषीलाई गिरफ्तार गरी कानुनी कारबाही गर्न जोडदार माँग गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगलाई घटनाको तत्काल अनुगमन गरी सत्यतथ्य बाहिर ल्याएर मानव अधिकार रक्षकहरूको न्याय प्राप्तीका लागि सहजिकरण गर्न माँग गरिएको छ ।