INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय परिचय पत्र लिन जेष्ठ नागरिकलाई सास्ती

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने सूचना जारी गरेपछि जेष्ठ नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय पुगेर दिनभरी लाइन बसेर फोटो खिचाउन सास्ती भएको छ ।

इन्द्रावती गाउपालिका–१ की ७८ वर्षीया अप्सरा तामाङ राष्ट्रिय परिचय पत्र बनाउनका लागि बिहान घरबाट हिँडेर दिउसो १ बजे जिल्ला प्रशासन कार्यालय पुग्नुभयो । तर सोही दिन पालो नआउने भएपछि सदरमुकाम बास बस्नुपरेकोमा चिन्ता लागेको बताउनुभयो ।

लठ्ठीको साहारामा राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय आउनुभएका चौतारा सागाचोकगढी नगरपालिका– १४ का ७७ वर्षीय बृखबहादुर बस्नेत पालो कुरेर बसेको दुई घण्टा भन्दा बढी समय भएको बताउनुहुन्छ ।

राष्ट्रिय परिचय पत्र बनाउन छोरीको साहारामा आउनुभएकी जुगल गाउँपालिका–५ की ७५ वर्षीय रामकुमारी पौड्याल पनि घरबाट लिएर आएको खाजा खादै पालो कुरेर बसेको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य हुनुपर्ने कुराको हल्लाले जेष्ठ नागरिकहरू जिल्ला प्रशासन कार्यालय आउने क्रम बढेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार सूचना जारी भएतापनि आउँदो माघ महिनासम्म सिन्धुपाल्चोक सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य हुनुपर्ने छैन ।

समय समयमा सिस्टम नचल्ने प्राविधिक समस्या र जेष्ठ नागरिकहरूको भिड लागेका कारणले समयमै सेवा पु¥याउन कठिन भएको राष्ट्रिय परिचय पत्र दर्ता अप्रेटर सूर्यप्रकाश श्रेष्ठले बताउनु भयो ।

Photo20240702Sindhupalchowk-01

अन्य

भिडियो