बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।
हरेक वर्ष बर्खाका सयमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक प्रकोपको समस्याले पिरोल्ने हुँदा पीडित पक्षलाई तत्काल राहत र उद्दारका लागि गाउँपालिकाले कोष स्थापना गरेको हो ।
बर्खायामको मनसुनजन्य घटनाबाट अर्थात बाढीपहिरोका कारण जनधनको क्षति बेहोर्ने र विस्थापितसँगै प्रभावित हुने परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो । पीडित परिवारका लागि सङ्कलन हुने सहयोग रकमलाई व्यवस्थित गर्नसमेत कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकोप व्यवस्थापन कोषमार्फत प्राप्त हुने सहयोग रकम वास्तविक पीडित परिवारलाई वितरण गर्न पनि सहज हुने गाउँपालिका अध्यक्ष राजन लिम्बूको भनाइ छ । कुनै समय सहयोगी निकाय वा संस्थाले उपलब्ध गराउने सहयोग वास्तविक पीडितसमक्ष नपुग्ने गरेको पाइएकाले प्राप्त हुने सहयोगलाई व्यवस्थित गर्न कोष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सहयोगदाता तथा सङ्घ संस्थालाई अबदेखि आधिकारिक रुपमा स्थापना भएको कोषमार्फत सहयोग गर्न पनि आह्वान गरेको छ । कोषमा जम्मा हुने सहयोग रकम वास्तविक प्रकोप प्रभावित साथै पीडित परिवारको पहिचान गरी वितरण र हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै कोषमार्फत परिचालन हुने आयव्यय रकम गाउँपालिकाले प्रत्येक तीन महिनामा सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।